काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।
बजार आज १२.२७ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २२६८.८४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.१२ अंकले बढेर ४३९.४७ को विन्दुमा पुगेको छ। कारोबार रकम १ अर्ब ३९ करोड रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल अहिले मुलुक नै चुनावमा होमिएकोले सेयर बजार शिथिल बनेको बताउँछन्। ‘राजनीतिक चासो बढेको छ, पुँजीबजार शिथिल भएको अवस्था छ’, उनले भने।
चुनावपछि बजार आफ्नो लयमा फर्किने देखिएकोले लगानीकर्ताहरुले अहिले धमाधम खरिद गरिरहेको ढकाल बताउँछन्। ‘जेठको पहिलो साताबाट बैंकिङ च्यानलमा पैसा आएसँगै बजार बढ्ने देखिन्छ’, उनले भने, ‘हिजो र आजको बजारले बजार बढ्ने संकेत गरेको छ।’
सक्रिय लगानीकर्ता आयन बन्जारा चुनावपछि बजार बढ्ने भएकाले लगानीकर्ताले हिजोदेखि नै खरिद सुरु गरेको बताउँछन्। ‘चुनावपछि चुनावी खर्चको पैसा बैंकिङ च्यानलमा आउनेछ, तरलता पनि सहज हुने’, उनले भने, ‘चुनावपछि बजार बढ्ने सम्भावना प्रबल छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ।
यो दिन व्यापार समूह सर्वाधिक १.७४ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह १.३३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.९६ प्रतिशत, जलविद्युत समूहमा ०.५ प्रतिशत, वित्त समूहमा ०.१ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५१ प्रतिशत, अन्य समूहमा ०.३४ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.५५ प्रतिशतले बढोत्तरी भएको छ।
आज होटेल तथा पर्यटन समूह सर्वाधिक ०.८८ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह ०.७ प्रतिशतले घट्दा विकास बैंक समूहमा ०.५३ प्रतिशत र लगानी समूहमा ०.०९ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२२ कम्पनीका ३३ लाख २४ हजार ८२२ कित्ता सेयर १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७०२ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल टेलिकमको सर्वाधिक ७ करोड ८३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ५ करोड ४ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ४ करोड ९५ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ८६ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ६९ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ४७ लाख रुपैयाँ, निफ्राको ३ करोड २६ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ९४ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको २ करोड ७७ लाख रुपैयाँ र एसियन लाइफ इन्स्योरेन्सको २ करोड ७१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज जाल्पा सामुदायिक लघुवित्तका सेयरधनीहरु मालामाल भएका छन्। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन हिमालय ऊर्जा विकास कम्पनीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशतको हाराहारी ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago