काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार सेयर बजारमा भारी अंकको बढोत्तरी भएको छ।
आज बजारमा ५६.०६ अंकको बढोत्तरी भएको हो। योसँगै नेप्से परिसूचक २३६९.०६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.५२ अंकले बढेर ४५६.६६ को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर २ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार राजन लम्साल जेठमा ब्याजदर नबढ्ने खबरले बजार बढेको बताउँछन्। ‘गभर्नरले ब्याजदर बढ्छ भनेसँगै बजार घट्न थालेको थियो, तर आज ब्याजदर बढ्दैन भन्ने एनबीएको सूचनाले बजार बढेको देखिन्छ’, उनले भने।
अहिले बजारमा तरलता सहज हुँदै गएको पनि लम्साल बताउँछन्। ‘यो कारणले पनि बजार केही दिनदेखि लगातार बढिरहेको छ’, उनले भने।
हिजो विद्युत नियमन आयोगले ३ वटा जलविद्युत कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न स्वीकृति गरेको जलविद्युत कम्पनीहरुमा पनि चमक आएको लम्सालको भनाइ छ।
सक्रिय लगानीकर्ता विजय गिरी निरन्तर घटिरहेको बजारमा ब्याजदर नबढ्ने सूचना आएसँगै आज बजार राम्रो अंकले बढेको बताउँछन्। ‘आज कारोबार पनि राम्रो भएको छ’, उनले भने।
जलविद्युत कम्पनीहरुले हकप्रद सेयर निष्कासनको स्वीकृति पाएसँगै विगतमा झैँ जलविद्युत कम्पनीहरुमा आकर्षण बढेको गिरी बताउँछन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।
यो दिन जलविद्युत समूह सर्वाधिक ४.९७ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ४.३५ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.४९ प्रतिशत, व्यापार समूहमा १.०२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.७८ प्रतिशत, विकास बैंक समूहमा ३.७५ प्रतिशत, निर्जीवन बीमा समूहमा २.३९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.२९ प्रतिशत, अन्य समूहमा १.७९ प्रतिशत, लघुवित्त समूहमा ३.२६ प्रतिशत, जीवन बीमा समूहमा १.८२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.८३ प्रतिशत र लगानी समूहमा ३ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ५३ लाख ३३ हजार १०९ कित्ता सेयर २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक १० करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। ङादी ग्रुप पावरको ८ करोड ७३ लाख रुपैयाँबराबरको कारोबार भएको आज राधी विद्युत कम्पनीको ७ करोड ६२ लाख रुपैयाँ, शिवम सिमेन्टको ६ करोड ७५ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ५ करोड ८० लाख रुपैयाँ, अरुण काबेली पावरको ४ करोड ८६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड ७८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ७६ लाख रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सको ४ करोड ६८ लाख रुपैयाँ र युनिभर्सल पावरको ४ करोड ४७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज १० वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। नेसनल हाइड्रोपावर, नेपाल फाइनान्स, सिनर्ज पावर, राधी विद्युत, युनिभर्सल पावर र जाल्पा सामुदायिक लघुवित्तको सेयरभाउमा १० प्रतिशत र गणपति लघुवित्त, युनियन हाइड्रोपावर, बरुण हाइड्रोपावर र फरवार्ड माइक्रोफाइनान्सको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। इमर्जिङ नेपाल, अरुण काबेली पावर र पाँचथर पावरको सेयरभाउ पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।
यो दिन नेष्डो समृद्ध लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ १ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago