काठमाण्डौ । सेयर बजारमा बुधबार सुधार देखिएको छ।

बजार आज ८.९० अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २२७४.४२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.४१ अंकले बढेर ४४१.०९ को विन्दु पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर सवा १ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार प्रकाश रजौरे आज बजारमा सुधारको मुख्य कारण लगानीकर्ताको मनोबल बढ्दै जानु नै रहेको बताउँछन्। ‘हिजो इन्स्योरेन्समा दबाब पर्दा बजार घटेको थियो तर आज बजार सम्हालिएको छ’, उनले भने, ‘अब चुनावको नतिजापछि बैंकहरुमा पनि तरलता सहज हुँदै जाने देखिन्छ।’ 

बजेट घोषणाको मिति नजिकिनु र त्योभन्दा पहिले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षा पनि आउने भएकोले लगानीकर्ताले केही आश गर्ने ठाउँ रहेको रजौरे बताउँछन्। ‘प्राविधिक रुपमा आज २२४० को न्यून विन्दुबाट ३५ अंक बढेर २२६० भन्दा माथि बन्द भएकोले पनि बजार अब बढ्ने नै देखिन्छ’, उनले भने, ‘जेठोका दोस्रो साताबाट तरलता पनि सहज हुँदै जाने भएकोले ब्याजदर स्थिर हुने देखिन्छ।’

सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने बजार घटबढ सामान्य रहेको बताउँछन्। ‘आजको बढाइले लगानीकर्ताको मनोबल बढेको देखिन्छ’, उनले भने, ‘हिजो बजार इन्स्योरेन्सको मर्जको कारणले घटेको थियो।’

विश्व बजार र अर्थतन्त्रमा देखिएको समस्याका कारण पनि लगानीकर्ताहरु डराएका हुन सक्ने न्यौपानेले बताए। ‘त्यसको प्रभाव नेपालको सेयर बजारमा परेको देखिन्छ’, उनले भने, ‘तर, नेपालको सेयर बजारमा ठूलो अंकले घटेको भोलिपल्ट बढेको उदाहरण धेरै छन्।’

आज बजार बैंकिङ सेक्टरले थामेको र हाइड्रो तथा फाइनान्स सेक्टरले बढाएको न्यौपाने बताउँछन्। ‘आगामी बजेट पुँजीबजारमैत्री हुन सक्ने आशा गर्न सकिन्छ’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ। 

यो दिन जलविद्युत समूह सर्वाधिक २.०८ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह १.४२ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.२४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.३ प्रतिशत, वित्त समूहमा १.१२ प्रतिशत, अन्य समूहमा ०.७६ प्रतिशत, लघुवित्त समूहमा ०.०१ प्रतिशत र लगानी समूहमा ०.६६ प्रतिशतको बढोत्तरी भएको छ। 

आज जीवन बीमा समूह सर्वाधिक ०.८७ प्रतिशतले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ०.४८ प्रतिशतले घट्दा व्यापार समूहमा ०.१९ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४१ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.२५ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका ३१ लाख ५६ हजार ९१३ कित्ता सेयर १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३४६ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ५ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। जाल्पा सामुदायिक लघुवित्तको ४ करोड ९५ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ४ करोड ३९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ९० लाख रुपैयाँ, अरुण काबेली पावरको ३ करोड ६२ लाख रुपैयाँ, राधी विद्युतको ३ करोड ६० लाख रुपैयाँ, ङादी ग्रुप पावरको ३ करोड ३० लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ३ करोड १७ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको ३ करोड १२ लाख रुपैयाँ र अपी पावरको ३ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन राधी विद्युतका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशतले बढी उकालो लागेको छ। 

आज सूर्यादय वोमी लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।