काठमाण्डौ । सेयर बजार मंगलबार पनि भारी अंकले ओरालो लागेको छ।
बजार आज ३५.५३ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २१३७.९२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.११ अंकले ओरालो लागेर ४१५.६३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा १ अर्ब रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल आज पनि बजार घट्नुको मुख्य कारण नेपाल इन्भेस्टमेन्ट बैंकको सेयरमा बिक्रीचाप पर्नु नै रहेको बताउँछन्। ‘यसअघि बीमा कम्पनीहरुको मर्जरले बजार प्रभावित भइरहेको थियो’, उनले भने, ‘अहिले इन्भेस्टमेन्ट बैंकका कारण बजार प्रभावित भइरहेको छ। अब हिमालयन बैंकको सेयर कारोबार खुल्दा बजार थप प्रभावित हुन सक्ला।’
यस्तो बेला घाटा खाएर सेयर बेचेर बजारबाट बाहिरिनु गलत हुने ढकालको भनाइ छ। ‘किनकि बजार ५५ प्रतिशतले घटिसकेको छ’, उनले भने, ‘अब बजार घट्न रोकिनुपर्ने हो तर हामी लगानीकर्ताहरुले नै हल्लाको पछाडि लागेर धमाधम सेयर बेच्दा बजार प्रभावित भइरहेको छ।’
बजेट पनि पुँजीबजारमैत्री नै आएको उल्लेख गर्दै उनले आउँदो मौद्रिक नीति पुँजीबजारअनुकूल नै आउने दाबी गरे। ‘राष्ट्र बैंकले मौद्रिक नीतिका लागि सुझाव मागेको छ’, उनले भने, ‘हामीले ४–१२ को क्याप हटाउन सुझाव दिएका छौँ।’
अहिले बैंकमा तरलता पनि बढिरहेको ढकालले बताए। ‘यस्तो बेला सेयर बेच्नुभन्दा होल्ड गर्ने र घटेको बेला राम्रा–राम्रा कम्पनीको सेयर उठाउने अवसर हो’, उनले भने।
बजार जानकार मुक्ति अर्याल पनि बजार घट्नुपर्ने खासै कारण नरहेको बताउँछन्। उनी पनि बजार घट्नुको मुख्य कारण इन्भेस्टमेन्ट बैंक नै रहेको बताउँछन्।
अर्याल अहिले धेरै लगानीकर्ता राष्ट्र बैंकबाट तर्सिएको बताउँछन्। ‘यस्तो बेला बजार नियामक नेपाल धितोपत्र बोर्डले राष्ट्र बैंकसँग समन्वय गरेर लगानीकर्ताको मनोबल उकास्नुपर्ने देखिन्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा रातो पोतिएको छ भने एउटामात्रै हरियाली छाएको छ।
यो दिन निर्जीवन बीमा समूह सर्वाधिक २.५६ प्रतिशतले ओरालो लागेको छ। बैंकिङ समूह १.९१ प्रतिशतले घट्दा व्यापार समूहमा १.७८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.२३ प्रतिशत, विकास बैंक समूहमा १.४६ प्रतिशत, जलविद्युत समूहमा १.२४ प्रतिशत, वित्त समूहमा १.५४ प्रतिशत, उत्पादन तथा प्रशोधनमा १.५३ प्रतिशत, अन्य समूहमा १.६७ प्रतिशत, लघुवित्त समूहमा १.६७ प्रतिशत, जीवन बीमा समूहमा ०.६९ प्रतिशत र लगानी समूहमा १.१७ प्रतिशतको गिरावट आएको छ।
आज म्युचुअल फन्ड समूहमात्रै ०.४५ प्रतिशतले उकालो लागेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ३७ लाख ६९ हजार ८१२ कित्ता सेयर १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० रुपैयाँमा किनबेच भएका छन्।
यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक ५ करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ३ करोड ९८ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ३ करोड ६८ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ३ करोड १३ लाख रुपैयाँ, नागरिक लगानी कोषको ३ करोड २ लाख रुपैयाँ, अप्पर तामाकोशीको २ करोड ९९ लाख रुपैयाँ, अरुण काबेली पावरको २ करोड ८३ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २ करोड ८२ लाख रुपैयाँ, अपी पावरको २ करोड ७५ लाख रुपैयाँ र निफ्राको २ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज उपकार लघुवित्तका सेयरधनीहरु मालामाल भएका छन्। यो लघुवित्तको सेयरभाउ ८ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन नेपाल इन्भेस्टमेन्ट बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउमा १० प्रतिशतको हाराहारीले गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago