काठमाण्डौ । सेयर बजारमा मंगलबार भारी अंकको गिरावट आएको छ। 

बजार आज ४५.५९ अंक (२.२१ प्रतिशत) ले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०२०.२३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ११.२४ अंकले घटेर ३८९.१२ को विन्दुमा झरेको छ। कारोबार रकम सवा १ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार झन्डै १८ महिनायताकै न्यून विन्दुमा झरेको छ। यसअघि बजार २०७७ पुस १४ मा २०२० को विन्दुमा थियो। 

बजार जानकार सरोज भट्टराई बजेट लगानीकर्ताका कुनै पनि माग सम्बोधन नगरेकै कारण बजार लगातार घटिरहेको बताउँछन्। ‘लगानीकर्ताका आन्दोलनले पनि बजारलाई कुनै सपोर्ट गरेको देखिँदैन’, उनले भने, ‘यसको मुख्य आशय भनेको बजारले नीतिगत सुधार नै खोजेको छ।’

भट्टराईले ४–१२ को क्याप हटाउनु नै पर्ने अवस्था देखिएको बताए। ‘तर, राष्ट्र बैंक अहिले नै हटाइहाल्ने अवस्थामा देखिँदैन’, उनले भने, ‘सीडी रेसियो केही घटेको छ तर बजारप्रतिशत लगानीकर्ताको विश्वास बढेको छैन।’

अबको मौद्रिक नीति झनै कडा आउने सम्भावना पनि लगानीकर्ताहरुले देखाका हुन सक्ने भट्टराईको अनुमान छ। ‘तर, कुनै नीतिगत परिवर्तन भइहालेमा बजार जरी घटेको थियो, त्यसरी नै बढ्ने सम्भावना पनि प्रबल छ’, उनले भने। 

सक्रिय लगानीकर्ता निमानन्द कँडेल आधारभूत रुपमा हेर्दा बजारलाई ४–१२ को व्यवस्थाले नै असर गरेको देखिएको बताउँछन्। कँडेलले पनि बजारले अहिले नीतिगत परिवर्तन वा सम्बोधन नै खोजेको बताए। ‘१० महिनामा बजार १३०० अंकले घटिसकेको छ, यस्तो बेला नियामक निकायबाट पहलकदमी आवश्यक छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक २.७४ प्रतिशतले ओरालो लागेको छ। बैंकिङ समूह २.७२ प्रतिशतले घटेको आज व्यापार समूहमा १.७७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.७२ प्रतिशत, विकास बैंक समूहमा २.४६ प्रतिशत, जलविद्युत समूहमा १.९७ प्रतिशत, वित्त समूहमा २.४५ प्रतिशत, निर्जीवन बीमा समूहमा १.६५ प्रतिशत, अन्य समूहमा २.०७ प्रतिशत, लघुवित्त समूहमा १.६१ प्रतिशत, जीवन बीमा समूहमा ०.९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.९५ प्रतिशत र लगानी समूहमा २.२९ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३४ कम्पनीका ३८ लाख ८७ हजार ७४८ कित्ता सेयर १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६३ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक ६ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भएको छ। कुमारी बैंकको ५ करोड ८८ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ३ करोड ७५ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड २० लाख रुपैयाँ, नबिल बैंकको २ करोड ९० लाख रुपैयाँ, अरुण काबेली पावरको २ करोड ७९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ७४ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनको २ करोड ४८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २ करोड ३४ लाख रुपैयाँ र नागरिक लगानी कोषको २ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने 

यो दिन उपकार लघुवित्त र बलेफी हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। यी दुवै कम्पनीको सेयरभाउमा क्रमशः १० र १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। 

यसैगरी आज हिमालयन बैंकका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो बैंकको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।