काठमाण्डौ । सेयर बजार बिहीबार दोहोरो अंकले ओरालो लागेको छ।
बजार आज १७.५८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०६२.८६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.९९ अंकले घटेर ३९६.३९ को विन्दुमा ओर्लेको छ। हिजोको तुलनामा कारोबार घटेर साढे १ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
बजार जानकार प्रकाश रजौरे बजार आज घट्नुले अझै पनि ४–१२ को दबाब रहेको देखिने बताउँछन्। ‘मार्जिन कलले पनि बजारमा दबाब परेको छ’, उनले भने, ‘यी विषयमा तुरुन्तै सम्बोधन भएमा केही आश गर्न सकिन्छ।’
लगानीकर्ताले मौखिक रुपमा अर्थमन्त्रीबाट आएका कुरालाई विश्वास नगरिहालेकोले पनि आज बजार घटेको हुन सक्ने रजौरेले बताए। ‘मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षापछि सर्कुलर आउनै बाँकी छ’, उनले भने, ‘अब राष्ट्र बैंकबाट आउने सर्कुलर पुँजीबजारका विषयमा सम्बोधन हुन आवश्यक देखिन्छ।’
बजार जानकार प्रेम ओली हिजो केही सकारात्मक समाचार आउँदा बजार बढेको बताउँछन्। ‘आज त्यसैको करेक्सन पनि हुन सक्छ’, उनले भने।
अझै पनि लगानीकर्ताको मनोबल बढ्न नसकेको ओली बताउँछन्। ‘१२ लाख सक्रिय लगानीकर्ता छन्, सबैले थोरै–थोरै किन्दा पनि बजारमा सकारात्मक महौल बन्छ तर लगानीकर्ताहरु अहिले नै विश्वस्त भइसकेको अवस्था छैन’, उनले भने, ‘लगानीकर्ता अझै पनि पर्ख र हेरकै अवस्थामा छन्।’
केही दिन साइडवेजमा चलेर बजार स्थिर भएपछि लय समात्न सक्ने ओलीको अनुमान छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
यो दिन वित्त समूह सर्वाधिक २.३१ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह २.०२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.४ प्रतिशत, व्यापार समूहमा ०.७१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.४४ प्रतिशत, जलविद्युत समूहमा १.६५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.९९ प्रतिशत, अन्य समूहमा १.५६ प्रतिशत, लघुवित्त समूहमा ०.७१ प्रतिशत, जीवन बीमा समूहमा ०.२९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३९ प्रतिशत र लगानी समूहमा ०.७४ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ४१ लाख ५६ हजार १०४ कित्ता सेयर १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन कुमारी बैंकको सर्वाधिक ६ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ४ करोड ३२ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण काबेली पावरको ३ करोड ९८ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको ३ करोड ९८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ९५ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ८८ लाख रुपैयाँ, अपी पावरको ३ करोड ६८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ६२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड १४ लाख रुपैयाँ र शिवम सिमेन्टको २ करोड ७१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। उपकार लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत र बलेफी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।
यो दिन सिंगटी हाइड्रोका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा ५ प्रतिशत बढीको गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago