काठमाण्डौ । सेयर बजार आज भारी अंकले उकालो लागेको छ।
बजार आज ५९.५४ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९८६.८२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १२.४२ अंकले बढेर ३८१.३७ को विन्दुमा पुगेको छ। कारोबार रकम २ अर्ब रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल सेयर बजारको खबर समय सकिएको बताउँछन्। ‘असार मसान्तको प्रभाव पनि सकियो’, उनले भने, ‘बैंकहरुले ब्याजदर नबढाउने भद्र सहमतिका खबर पनि आएका छन्।’
आउने मौद्रिक नीतिमा लगानीकर्ताहरुको धेरैजसो माग सम्बोधन हुने सम्भावना रहेको ढकाल बताउँछन्। ‘यी सबै कारणले बजार अब माथि नै जान्छ’, उनले भने।
सक्रिय लगानीकर्ता दामोदर गजुरेल बजार अब सबै कुराले सहज हुने देखिएको बताउँछन्। ‘साउनमा ब्याजदर नबढ्ने समाचारले बजार सकारात्मक बनेको छ’, उनले भने, ‘असार मसान्तको दबाब पनि सकियो। तरलता पनि सहज बनेको छ।’
आज बजारलाई भोलुमले पनि साथ दिएको गजुरेलले बताए। ‘प्राविधिक रुपमा अहिले नै कन्फर्मेसन नमिले पनि अब १–२ दिनको कारोबारपछि कन्फर्मेसन दिने हुँदा पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ता पनि बजार प्रवेश गर्न सक्छन्’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १२ वटै समूहमा हरियाली छाएको छ।
यो दिन वित्त समूह सर्वाधिक ६.९६ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूहमा ६.२५ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.८९ प्रतिशत, व्यापार समूहमा ५.३९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.७९ प्रतिशत, जलविद्युत समूहमा ४.७१ प्रतिशत, निर्जीवन बीमा समूहमा १.८५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.८६ प्रतिशत, अन्य समूहमा ४.७२ प्रतिशत, लघुवित्त समूहमा ३.३१ प्रतिशत, जीवन बीमा समूहमा १.८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ४.१८ प्रतिशत र लगानी समूहमा ३.८७ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका ५७ लाख ८७ हजार १२५ कित्ता सेयर २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँमा किनबेच भएका छन्।
आज शिवम सिमेन्टको सर्वाधिक ९ करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ८ करोड ३३ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन नेपाल बैंकको ७ करोड ५९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ४५ लाख रुपैयाँ, अरुण काबेली पावरको ६ करोड ४५ लाख रुपैयाँ, नेपाल टेलिकमको ६ करोड ४० लाख रुपैयाँ, सिभिल बैंकको ५ करोड ५७ लाख रुपैयाँ, लक्ष्मी बैंकको ५ करोड १४ लाख रुपैयाँ, नबिल बैंकले ४ करोड ७९ लाख रुपैयाँ र सिद्धार्थ बैंकको ४ करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ४ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा सीईडीबी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।
यसैगरी ग्रिन डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो, ग्रिनलाइफ हाइड्रोपावर र लक्ष्मी लघुवित्तको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन एभरेष्ट बैंकको संस्थापक सेयरको सेयरभाउमा नेगेटिभ सर्किट लागेको छ। यो बेंकको संस्थापक सेयरको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19