काठमाण्डौ । सेयर बजारमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ। 

बजार आज ४४.८० अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०८८.१६ को विन्दुमा झरेको छ। राम्रा बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.९९ अंकले घटेर ३९८.३९ को विन्दुमा झरेको छ। कारोबार रकम पौने ४ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

बजार जानकार मुक्ति अर्याल आज बजार मुख्य गरी २ वटा कारणले घटेको बताउँछन्। ‘पहिलो कारण भनेको २ दिन राम्रै अंकले बजारमा नाफाबुक गर्नु र दोस्रो कारण ट्रेजरी बिलको ब्याजदर बढ्यो भन्ने समाचारका कारण नै हो’, उनले भने। 

अर्याल ट्रेजरी बिल अल्पकालीन ऋणपत्र भएकोले यसको ब्याजदर बढ्दैमा बैंकको ब्याजदर पनि बढिहाल्छ भन्नु छिटो हुने बताउँछन्।

अर्का बजार जानकार वीरेन्द्र बिष्ट आज बजार घट्नुको मुख्य कारण नाफाबुक नै भएको बताउँछन्। ‘ट्रेजरी बिलको ब्याजदर बढेकोमा बैंक ब्याजदर बढ्छ भन्ने गलत बुझाइले पनि आज बजार प्रभावित भएको देखिन्छ’, उनले भने। 

आयातमा कडाइ गर्न पनि ट्रेजरी बिलको ब्याजदर बढाइएको बिष्ट बताउँछन्। ‘यही कारणले बैंकको ब्याजदर बढिहाल्छ भन्नु अलि हतार हुन्छ’, उनले भने, ‘किनकि डलरको बिडिङ पनि केही समयअघि १८ प्रतिशतसम्म भएको थियो।’

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन अन्य समूह सर्वाधिक ३.५६ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह २.९६ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.७९ प्रतिशत, व्यापार समूहमा २.३९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.७७ प्रतिशत, जलविद्युत समूहमा १.९४ प्रतिशत, वित्त समूहमा २.७७ प्रतिशत, निर्जीवन बीमा समूहमा १.२४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.७३ प्रतिशत, लघुवित्त समूहमा २.२८ प्रतिशत, जीवन बीमा समूहमा १.३३ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२३ प्रतिशत र लगानी समूहमा २.५६ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२२ कम्पनीका ८७ लाख ४० हजार ५५१ कित्ता सेयर ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक १९ करोड ३६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण काबेली पावरको १५ करोड ५७ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको १० करोड २४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ९ करोड ८० लाख रुपैयाँ, राधी विद्युतको ८ करोड ३५ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको ८ करोड ८ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७ करोड ९९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ७ करोड ६५ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ७ करोड ६३ लाख रुपैयाँ र अपी पावरको ७ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज मल्टीपर्पस फाइनान्सका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउ ९ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन गणपति लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।