काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार भारी अंकले उकालो लागेको छ।
बजार आज ५४.५८ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २१९५.१० को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.७२ अंकले बढेर ४१९.२० को विन्दुमा पुगेको छ। कारोबार रकम साढे ४ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार महेश रिजाज अहिले सबैतिर सकारात्मक हुँदा बजार बढोत्तरी भएको बताउँछन्। ‘अन्य क्षेत्रमा रोकिएको पैसा पनि सेयर बजारमा आएकोजस्तो देखिन्छ’, उनले भने, ‘बैंक तथा वित्तीय संस्थाहरुको चौथो त्रैमासको रिपोर्ट पनि राम्रै आइरहेकोले बजार बढ्नलाई थप टेवा पुगेको छ।’
सेक्टर परिवर्तन हुँदै बजार बढेको हुँदा यो बढाइमा दिगोपन देखिने रिजाल बताउँछन्। ‘बीमा कम्पनीहरुको सेयरभाउ धेरै घटेकोले आज बढेको छ’, उनले भने, ‘बैंकहरुको सेयरभाउ बढ्न पनि रिपोर्टहरुले सपोर्ट गरेको छ।’
लगानीकर्ताको मनोबल बढेका कारण बजार सानातिना करेक्सनका साथ माथि नै लाग्ने रिजालको अनुमान छ।
सक्रिय लगानीकर्ता निमानन्द कँडेल पनि बजार बढ्नुमा दुईवटा कारण रहेको बताउँछन्। आधारभूत रुपमा कम्पनीहरुको चौथो त्रैमासको रिपोर्ट आउँदै गर्दा लगानीकर्तामा मनोबल बढ्नु र प्राविधिक रुपमा आज २१५० को प्रतिरोधलाई ब्रेक गरेका कारण बजारमा बढोत्तरी आएको उनको भनाइ छ।
घरजग्गामा कसिलो नीति आएकोले त्यताको पैसा पनि सेयर बजारमा आएको हुन सक्ने कँडेलको अनुमान छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटा मात्रै रातो पोतिएको छ।
यो दिन लगानी समूह सर्वाधिक ४.७६ प्रतिशतले उकालो लागेको छ। निर्जीवन बीमा समूह ४.५१ प्रतिशतले उकालो लाग्दा बैंकिङ समूहमा २.९२ प्रतिशत, व्यापार समूहमा ३.६२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.७ प्रतिशत, विकास बैंक समूहमा ०.७८ प्रतिशत, जलविद्युत समूहमा ०.८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.८३ प्रतिशत, अन्य समूहमा ३.६२ प्रतिशत, लघुवित्त समूहमा १.१ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.७५ प्रतिशतको बढोत्तरी भएको छ।
आज वित्त समूह १.६ प्रतिशतले ओरालो लागेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२० कम्पनीका १ करोड १३ लाख ३९ हजार ४७६ कित्ता सेयर ४ अर्ब ६० करोड ९ लाख ७९ हजार २७२ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन शिवम सिमेन्टको सर्वाधिक २१ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको १५ करोड २३ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन एसियन लाइफ इन्स्योरेन्सको ११ करोड ५४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १० करोड ३७ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ९ करोड ७९ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ९ करोड ३८ लाख रुपैयाँ, सीआईटीको ८ करोड ५५ लाख रुपैयाँ, कुमारी बैंकको संस्थापक सेयरको ८ करोड ४९ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ८ करोड २४ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन १० वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशत तथा युनाइटेड इदी मर्दी, स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्स, नेसनल लाइफ इन्स्योरेन्स र स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। नेपाल एसबीआई बैंकको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा बढेको छ।
आज नेसनल हाइड्रोपावर र मल्टीपर्पस फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ३ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago