काठमाण्डौ । सेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज २१.९७ अंकले घटेको हो। योसँगै १९७३.३८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.३६ अंकले घटेर ३८४.५९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा १ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

बजार जानकार प्रकाश रजौरे बजारमा अहिले बिक्रीचाप परेको बताउँछन्। ‘खरिदकर्ता कमजोर बनेको छ’, उनले भने, ‘विशेषगरी दीर्घकालीन लगानीकर्ताहरु चुपचाप बस्दा अल्पकालीन लगानीकर्ताहरुले मात्रै बजार धान्न नसकेको देखिन्छ।’

बजारमा मुख्य कुरा तरलता संकट र अल्पकालीन लगानीकर्ताले ५–७ प्रतिशतको नाफामै सेयर बेच्दा दबाब परेको रजौरेले बताए। यद्यपि घट्दो बजारमा भोलुम नबढ्नुलाई राम्रै मान्नुपर्ने उनको भनाइ छ। 

अर्का बजार जानकार कमलराज अधिकारी बजारमा डराउनुपर्ने कुनै कारण नै नरहेको बताउँछन्। विस्तारै तरलता पनि बढ्दै गरेको, सरकारले आयातमा कडाइ गर्नुलगायतले सबै कुरा सकारात्मक नै रहेको अधिकारीको भनाइ छ। 

ब्रोकरले सहयोग गरे बजार बढ्ने अधिकारी बताउँछन्। आज बजार घट्नुमा नयाँ लगानीकर्ताहरुले आत्तिएर बेचेको हुन सक्ने अधिकारीको अनुमान छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन वित्त समूह सर्वाधिक २.४२ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह २.१७ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.५३ प्रतिशत, व्यापार समूहमा १.३२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.३६ प्रतिशत, विकास बैंक समूहमा १.८४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.०२ प्रतिशत, अन्य समूहमा १.१ प्रतिशत, लघुवित्त समूहमा १.४७ प्रतिशत, जीवन बीमा समूहमा १.४७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.७ प्रतिशत र लगानी समूहमा ०.९१ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका २९ लाख ९२ हजार ८७३ कित्ता सेयर १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६२ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन नेपाल टेलिकमको सर्वाधिक १० करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिडी पावरको ६ करोड ४० लाख रुपैयाँबराबरको कारोबार भएको आज राप्ती हाइड्रोको ३ करोड २७ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ३ करोड २५ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ६ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ८२ लाख रुपैयाँ, अरुण काबेली पावरको २ करोड ६८ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको २ करोड ५८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ५१ लाख रुपैयाँ र अपी पावरको २ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज उन्नति सहकार्य लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउ २ प्रतिशतको हाराहारीमा बढेको छ।

यो दिन हिमालयन पावर पाटर्नरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।