काठमाण्डौ । सेयर बजार साताको दोस्रो दिन सोमबार पनि सामान्य अंकले ओरालो लागेको छ।
बजार आज २.६१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८५८.३३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.२ अंकले बढेर ३६५.६२ को विन्दुमा उक्लिएको छ। कारोबार रकम हिजोको तुलनामा घटेर साढे ५१ करोड रुपैयाँ बढीको भएको छ।
बजार जानकार महेश रिजाल अब बजार धेरै तल जाने ठाउँ नरहेको बताउँछन्। ‘बजार केही समय साइडवेज नै चल्छ’, उनले भने।
बजारको करिब–करिब यही नै बटम हुन सक्ने रिजालको भनाइ छ। ‘चाडपर्वका कारण पनि बजार सुस्त बनेको हो’, उनले भने।
अर्का बजार जानकार विष्णु भुसाल पनि बजार अहिले साइडवेजमा चलिरहेको बताउँछन्। आसन्न चुनावसम्म बजार यस्तै हुन सक्ने उनको भनाइ छ। ‘कर्जाको ब्याजदर बढेको छ, तरलता पनि सहज भइसकेको अवस्था छैन’, उनले भने, ‘अब नयाँ सरकार आएपछि मात्रै बजार दिशा प्रस्ट हुन्छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ।
यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ०.४१ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ०.३६ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.१२ प्रतिशत, व्यापार समूहमा ०.०९ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.१७ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.२१ प्रतिशतको बढोत्तरी भएको छ।
आज वित्त समूह सर्वाधिक १.१ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ०.८२ प्रतिशतले घट्दा जलविद्युत समूहमा ०.७२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३७ प्रतिशत, लघुवित्त समूहमा ०.१४ प्रतिशत, जीवन बीमा समूहमा ०.३ प्रतिशत र लगानी समूहमा ०.६३ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २१९ कम्पनीका १६ लाख ३१ हजार ३४९ कित्ता सेयर ५१ करोड ५८ लाख १८ हजार ९९० रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नबिल बैंकको सर्वाधिक २ करोड ७९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। प्रभु बैंकको २ करोड ६१ लाख रुपैयाँबराबरको कारोबार भएको आज रिडी पावरको २ करोड २६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड ८० लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको १ करोड ६२ लाख रुपैयाँ, शिवम सिमेन्टको १ करोड ४० लाख रुपैयाँ, एभरेस्ट बैंकको १ करोड २८ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेन्सको १ करोड ९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ८ लाख रुपैयाँ र नेष्डो समृद्ध लघुवित्तको १ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज दुईवटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। अभियान लघुवित्त र सयपत्री हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो।
यो दिन पिपुल्स पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19