– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । तिहार र छठ पर्वपछि खुलेको सेयर बजार दुवै दिन बढेको छ। सोमबार सामान्य सुधार भएको बजारमा मंगलबार भने उछाल नै आएको छ। 

तिहारपछि खुलेको बजारमा चमक फर्किएको छ। योसँगै ब्रोकर हाउसहरुमा पनि लगानीकर्ताको उपस्थिति बाक्लिएको छ। बजार घट्दा हराउने लगानीकर्ताहरु बढ्न थालेपछि भने एकाएक हसिलो मुद्रामा बजारमा भेटिन्छन्। 

आज बिहानै सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४०) मा भेटिएकी लगानीकर्ता मनु शर्मा पनि अब बजार बढ्नेमा आशावादी छिन्। ‘बजार घटेर तनाव नै भएको थियो, अब त बढ्छ होला’, उनले भनिन्, ‘घर–जग्गाको कारोबार पनि सुस्त छ, लगानी गर्ने सेयर बजारबाहेक अन्य विकल्प पनि छैन।’

शर्मा तरलता सहज बन्दै गएकोले ब्याजदर अब नबढ्नेमा ढुक्क छिन्। ‘बैंकहरुमा पैसा सहज हुँदै गएको भन्ने सुनेकी छु, त्यसैले ब्याजदर पनि नबढ्ला’, उनी भन्छिन्।

नेपाल स्टक हाउस (ब्रोकर नं. १४)मा भेटिएका अर्का लगानीकर्ता रमेश पोखरेल पनि अब सेयर बजार बढ्नेमा ढुक्क छन्। ‘बजार जति घट्नु थियो घट्यो, अब नबढी सुखैै छैन’, उनले भने।

नेपाल स्टक हाउसमा आज लगानीकर्ताको उपस्थिति राम्रै थियो। ब्रोकर सञ्चालकले पनि अब बजारले लय समात्ने आशा व्यक्त गरे। 

एसियन सेक्युरिटिज (स्टक ब्रोकर नं. २६)मा भने लगानीकर्ता उपस्थिति पातलो नै थियो। ब्रोकर सञ्चालक भने सेयर कारोबारमा व्यस्त देखिन्थे। 

फोनमार्फत नै एक लगानीकर्ताले एसियन सेक्युरिटिजमा एनएचपीसी र अरुण हाइड्रोपावर एक–एक हजार कित्ता खरिद गर्न आदेश दिए। ब्रोकर सञ्चालकले भने, ‘लामो समयपछि हाम्रो ब्रोकर हाउसबाट आज बल्ल ५ करोड रुपैयाँको कारोबार हुने भयो।’