-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) पूर्ण सरकारी स्वामित्वमा रहेको नाफामूलक सरकारी संस्थान हो । हालै नेपाल राष्ट्र बैंकको ३४.६० प्रतिशत सेयर हिस्सा बोलकबोलमार्फत बैंक वित्तीय संस्था तथा नेप्सेमा सूचीकृत संस्थाले मात्र खरिद गर्न पाउने सूचना जारी भएसँगै नयाँ बहस छेडिएको छ ।

धेरै समयअघिदेखि नेप्सेलाई बिजनेस मोडलमा लगी पूर्ण व्यवसायिक बनाउन समेत नेप्सेको पुर्नसंरचना समग्र पूँजीबजारमा खट्केको विषय नै हो । 

बैदेशिक लगानी, अत्याधुनिक प्रविधि, कार्यक्षेत्र विस्तार, फराकिलो दायरा र स्तरोन्नतिका लागि समेत दोस्रो बजारको फ्रन्टलाइन रेगुलेटर नेप्सेमा नयाँ उमङ्ग र उत्साह भएको सञ्चालक भित्र्याउन आवश्यक छ । तथापि वित्तीय संस्थाको हालीमुहाली रहेको नेप्सेमा तिनै वित्तीय संस्था वा नेप्सेमा सूचीकृत संस्थाहरुले मात्र खरिद गर्न पाउने व्यवस्थाले भने केही विरोधाभासपूर्ण अवस्था सिर्जना गरेको छ ।

नेप्सेमा सीइओ हुँदा डा. रेवतबहादुर कार्कीले २०६४ सालमा सेयर दलालहरुको तर्फबाट १ जना नेप्से सञ्चालक समितिमा बस्ने व्यवस्थालाई खारेज गरिदिएका थिए । त्यसबेला स्वार्थको द्वन्द्व सिर्जना हुन सक्ने तत्कालीन नेप्सेका सीइओ कार्कीको तर्क समेत थियो । जुन कुरा कार्कीले हिजोआज सार्वजनिक कार्यक्रमहरुमा छाति फुलाएर भन्ने गरेका छ ।

अहिले पुनः बैंक तथा वित्तीय संस्थालाई सेयर हिस्सा बिक्री गर्ने बाटो खोलिदिएपछि स्वार्थको द्वन्द्व सिर्जना नहोला भन्न सकिन्न । यसै पनि नेप्सेले भर्खरै बैंकलाई ब्रोकर लाइसेन्स खुलाएसँगै यसले निरन्तरता पाउने हाल चर्चाको विषय बनेको छ । 

बिजशाला स्रोतका अनुसार ग्लोबल आइएमई ग्रुप, प्रभु ग्रुप, बिशाल ग्रुप र खेतान ग्रुपबाट संचालित बैंक तथा व्यवसायिक घरानाले नेप्सेको सेयर हिस्सामा कब्जा गर्ने अवस्था आउनसक्छ । जबकि नियामकले हालसम्म पनि भित्री कारोबारका विषयमा दरिलो कानून नबनाइदिंदा गम्भीर चलखेल हुने यथार्थ हामीसामु प्रष्टै छ । यसले ठूलालाई चैन र सानालाई ऐन भन्ने भनाइलाई चरितार्थ गरेको देखिन्छ । 

यसरी हेर्दा नेप्सेमा रहेको सरकारी स्वामित्वको सेयर बोलकबोलबाट बिक्री गरी पूँजीबजारलाई सबै तालाचाबी सीमित घरानालाई सुम्पिन पो खोजिएको हो कि भन्ने आशंका समेत जन्मिएको छ । यो प्रकरणले नियामकीय क्षमता मै प्रश्न उठिरहेको छ । यसले पूँजी बजारको विकास र दायरा बृहत बनाउनेभन्दा पनि २÷४ जनाको मुठ्ठीको नियन्त्रणमा सेयर बजारलाई चलाइनसक्ने र सोझासीधा लगानीकर्ता बलीको बोका बन्ने भयावह अवस्था समेत नआउला भन्न सकिन्न । 

यो बहसमा एक जानकारले मुटु नै सुम्पन खोजेको र सरकारले समेत पुरातनवादी शैली र ढर्रालाई निरन्तरता दिएको आरोप लगाए । सरकारले अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर बिदेशी रणनीतिक साझेदारमा ३५ प्रतिशत सेयर हिस्सा दिई भित्र्याउन पहल नगरिनु पूँजी बजारको विकासमा चासो नदेखाएको ती जानकार बताउँछन् । नेप्सेको आधुनिकीकरण जरुरत छ । यसले पूँजीबजार भाइब्रेन्ट बनाइदिने उनको तर्क समेत छ । 

बिजशाला स्रोतले केही अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धित बैंकले समेत नेप्सेको सेयर स्वामित्वमा उच्च बोलकबोलमार्फत आउन लागेको दाबी समेत गरेको छ । बिजनेसलाई टेकेर ती बिदेशी बैंकहरुले नेपालको एकमात्र पूँजीबजारमा रहेका नीति निर्माण र आन्तरिक गोप्य विषयमा सुराकी गर्ने थलो बनाउने हुनाले त्यस्ता बिदेशी संस्थालाई  निर्माणमा जुट्ने जानकारहरु बताउँछन् । 

नेप्सेमा बैंक वित्तीय संस्थाको प्रवेशले ऊ आफैं नियमनमा बस्ने संस्था र नियमनकर्ताको दोहोरो भूमिकाले पारदर्शिता, संस्थागत सुशासन र जिम्मेवारीपनको अभाव खट्किने जानकारहरुको भनाइ छ । यसबाट दोस्रो बजारमा लगानी गरेका सोझा सर्वसाधारण लगानीकर्ताहरु सबैभन्दा बढी पीडित हुन सक्ने बताइन्छ ।

नेप्सेको सञ्चालक समितिमा हाल सरकारका संस्थाहरुकै प्रतिनिधि आउने, तर आफ्ना माउ संस्थाप्रति मुख्य जिम्मेवार बन्दै नेप्सेको कार्यक्षेत्र विस्तार र नयाँ नीति तथा कार्यक्रमहरु ल्याउन डराउने प्रवृत्तिले समेत पूँजीबजारको विकास र विस्तार हुन सकिरहेको छैन । सञ्चालक समितिमा पूँजी बजारबारे रिसर्च गरेका विज्ञ त अटाउने कुरै भएन, नेप्सेले दोस्रो बजारका विषयमा अध्ययन अनुसन्धानको पहलकदमी समेत लिएको देखिँदैन । 

विश्वमा कुल बजेटको ५० प्रतिशत रिसर्चमा लगानी गरी त्यो संस्थामार्फत सरोकारवाला र सेवाग्राहीलाई गुणस्तरीय र विश्वसनीय सेवा प्रवाह गरिदै आएकोमा यस्तो मोडलतर्फ नेप्सेको सोच समेत जान सकिरहेको छैन । नेप्सेको निजीकरणले अवश्य पनि बजार विकास र अनुसन्धानमा  गति आउनेछ, तर त्यसका लागि स्वतन्त्र र स्वार्थको द्वन्द्व सिर्जना नहुने खालका संस्थागत लगानीकर्ताको प्रवेश नै सर्वहित हुन्छ ।

नेप्सेमा कार्यरत  कर्मचारीहरुलाई तहगत अख्तियार भन्दा पनि टिम व्यवस्थापन कार्यगत शैलीले कर्मचारीहरुमा उच्च उत्प्रेरणा र मनोबल जगाउन सकेको खण्डमा नेप्सेको स्प्रिट झल्किन्छ नै, साथमा गुम्दै गएको गरिमा र ख्याति समेत अभिवृद्धि हुनेछ ।