काठमाण्डौ । गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट राम्रो लाभांश दिने कम्पनीहरु छानी-छानी लगानीकर्ताले सेयर खरिदारी बढाउँदा धेरै दिनको गिरावटमा ब्रेक लागी सेयर बजार परिसूचक(नेप्से) सोमबार ७.२३ अंकले बढेको छ ।
नेप्से परिसूचक बढेर १२२२.०६ को विन्दूमा पुग्दा बजारमा राम्रा र बलिया कम्पनीमा खरीद चाप देखिएको छ । फलस्वरुप सेन्सेटिभ इण्डेक्स १.८५ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.५५ अंकको बढोत्तरी भएको छ ।
यो दिन कारोबार रकम ३९ करोडको हाराहारीमा पुगेको छ ।
लगानीकर्ताहरु निकै राम्रो लाभांश घोषणा गरेका वा घोषणा गर्ने संभावना भएका लघुवित्तहरुमा निकै झुम्मिएका देखिएको छ । निकै राम्रो नाफा आर्जन गरी आशालाग्दो लाभांश क्षमता बनाउने वाणिज्य बैंकहरुमा समेत लगानीकर्ताको ध्यान तानिएको यो दिनको कारोबारले देखाएको छ ।
यो दिन निर्जीवन बिमा समूहको उपसूचक २९.७८ अंकले घटे पनि बाँकी सबै समूहको उपसूचक हराभरा भएका छन् ।
बैंकिङ समूह ७.३३ अंकले बढेको यो दिन विकास बैंक समूहमा १३.४३ अंक, माइक्रोफाइनान्स समूहमा २१.५१ अंक, वित्त समूहमा १.०७ अंक, जीवन बिमा समूहमा ४४.३२ अंक, म्युचुअल फण्ड समूहमा ०.०१ अंकको बढोत्तरी भएको छ ।
यसैगरी, होटल समूह ४.७४ अंकले बढेको यो दिन जलविद्युत समूहमा १.१९ अंक, उत्पादन तथा प्रशोधन समूहमा ६.९१ अंक र अन्य समूहमा ४.७२ अंकको बढोत्तरी भएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७५ कम्पनीका १४ लाख ७७ हजार ४३५ कित्ता सेयर ३८ करोड ९६ लाख २५ हजार २६५ रुपैयाँमा किनबेच भए ।
सबैभन्दा बढी सिद्धार्थ बैंकको २ करोड ५८ लाख बढीको संस्थापक सेयर किनबेच भयो ।
रसुवागढी हाइड्रापावर कम्पनी लिमीटेडले २ करोड १५ लाख बढीको कारोबार गरेको यो दिन एनआइसी एशिया बैंकले १ करोड ७१ लाख, सोल्टी होटल लिमीटेडले १ करोड ६७ लाख, कृषि विकास बैंकले १ करोड ६६ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ४६ लाख, प्रभू बैंकले १ करोड २१ लाख, शिवम सिमेन्टले १ करोड १७ लाख, नेपाल बैंकले १ करोड १० लाख र महालक्ष्मी विकास बैंकले ८६ लाख बढीको कारोबार गरेका छन् ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नाडेप लघुवित्तका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ७.५० प्रतिशतले बढेको छ । यो दिन धेरै कमाउने १० कम्पनीको सूचिमा ८ स्थान लघुवित्त कम्पनीहरुले ओगटेका छन् ।
यो दिन सानिमा इक्वीटी फण्डका इकाईधनीले सबैभन्दा बढी करिब ४ प्रतिशतले सम्पत्ति गुमाएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago