काठमाण्डौ । सेयर बजार मंगलबार झिनो अंकले ओरालो लागेको छ।
बजार आज २.५७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८९९.७० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.६३ अंकले घटेर ३७१.३० को विन्दुमा ओर्लेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर पौने १ अर्ब रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी बैंक ब्याजदर स्थिर रहने समाचारले बजारमा सकारात्मक प्रभाव पर्ने बताउँछिन्। ‘आज भोलुम पनि घटेको छ, यसको कारण बिक्रीचाप घटेको भनेर बुझ्न पनि सकिन्छ’, उनले भनिन्, ‘समग्रमा बजारले शक्ति सञ्चय गरेको देखिन्छ। किनकि घटेर खरिदमा बस्दा सेयर पाइएको छैन।’
बजार जानकार वीरेन्द्र बिष्ट तरलता सहज बन्दै गएकोले बजार यहाँभन्दा तल नजाने बताउँछन्। ‘राष्ट्र बैंकको दबाब कारण पुसमा ब्याज घटेन’, उनले भने, ‘तर, माघबाट भने वाणिज्य बैंकहरुले ब्याजदर घटाउन सक्छन्। किनकि उद्योगीव्यवसायीको आन्दोलन पनि चलिरहेको छ।’
पुस मसान्तको प्रभाव बजारमा सामान्य पर्ने बिष्टको भनाइ छ। ‘त्यसैले अझै केही दिन बजार साइडवेजमै चल्ने देखिन्छ’, उनले भने।
आज नेप्से उपसमूमा रहेका १३ वटा समूहमध्ये ४ वटामा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ।
यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ०.९० प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह ०.८८ प्रतिशतले बढ्दा लघुवित्त समूहमा ०.१५ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.३५ प्रतिशतको बढोत्तरी भएको छ।
आज अन्य समूह सर्वाधिक ०.९० प्रतिशतले ओरालो लागेको छ। वित्त समूह ०.६६ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.३८ प्रतिशत, विकास बैंक समूहमा ०.२८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.०९ प्रतिशत, लगानी समूहमा ०.०८ प्रतिशत, जीवन बीमा समूहमा ०.१२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०६ प्रतिशत र व्यापार समूहमा ०.१५ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २४८ कम्पनीका २० लाख ५८ हजार ५१० कित्ता सेयर ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नबिल बैंकको सर्वाधिक ७ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको ६ करोड ३ लाख रुपैयाँबराबरको कारोबार भएको आज समिट लघुवित्तको ४ करोड ६९ लाख रुपैयाँ, नेपाल बैंकको ३ करोड ५१ लाख रुपैयाँ, अपर तामाकोशीको २ करोड ९९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ८३ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ७७ लाख रुपैयाँ, रिडी पावरको २ करोड ४० लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ७९ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको १ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज सिवाईसी लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन तेह्रथुम पावर र सिंगटी हाइड्रोका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ३ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago