काठमाण्डौ । सेयर बजार बुधबार पनि झिनो अंकले ओरालो लागेको छ। 

बजार २.६२ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८९७.०८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.१२ अंकले घटेर ३७०.१९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पौने १ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

बजार जानकार मुक्ति अर्याल बजारको अवस्था हेर्दा लगानीकर्ता दोधारमा रहेको देखिएको बताउँछन्। ‘पछिल्लोपटक बजारले १९०० मा प्रतिरोध गरिरहेको छ, यसको अर्थ लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्’, उनले भने। 

अर्यालका अनुसार लगानीकर्ताहरु ब्याजदर के होला भन्ने अन्यौलतामै रहेका छन्। ‘राष्ट्र बैंकको नीतिले नै बजार प्रभावित भइरहेको छ’, उनले भने। 

अर्का बजार जानकार सरोज भट्टराई बजारले अहिले १८८० मा बलियो सपोर्ट लिएको बताउँछन्। ‘किनकि अघिल्लो बुलको उच्च विन्दु १८८१ थियो’, उनले भने। 

बजार अहिले साइडवेजमै चल्ने भट्टराई बताउँछन्। ‘यतिबेला दीर्घकालका लागि लगानी गर्ने उत्तम समय हो’, उनले भने। 

ठूला लगानीकर्ता बजारमा नपस्दा कारोबार तथा भोलुम नआएको भट्टराईको भनाइ छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा समूहमा रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ०.७२ प्रतिशतले उकालो लागेको जलविद्युत समूह ०.२८ प्रतिशतले बढ्दा वित्त समूहमा ०.१२ प्रतिशत, लगानी समूहमा ०.०८ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहमा ०.२५ प्रतिशतको बढोत्तरी भएको छ। 

आज म्युचुअल फन्ड समूह सर्वाधिक ०.९४ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ०.३७ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.३१ प्रतिशत, जीवन बीमा समूहमा ०.२८ प्रतिशत, लघुवित्त समूहमा ०.१६ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०५ प्रतिशत, अन्य समूहमा ०.२० प्रतिशत र व्यापार समूहमा ०.०८ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २४६ कम्पनीका २० लाख ८७ हजार ८७६ कित्ता सेयर ७२ करोड ७८ लाख ७७ हजार ८९७ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन नेपाल टेलिकमको सर्वाधिक ५ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। कृषि विकास बैंकको ४ करोड ८८ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको ४ करोड २२ लाख रुपैयाँ, रिडी पावरको २ करोड ५२ लाख रुपैयाँ, रसुवागढी हाइड्रोपावरको २ करोड २९ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड १९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड ९५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ५६ लाख रुपैयाँ, अपी पावरको १ करोड ५३ लाख रुपैयाँ र समिट लघुवित्तको १ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज सिवाईवी लघुवित्त र इस्टर्न हाइड्रोपावरका सेयरधनीहरुले सर्वाधिक कमाए। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

आज पिपुल्स हाइड्रोपावरका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशत गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।