काठमाण्डौ । सेयर बजारमा बुधबार सामान्य करेक्सन भएको छ।
बजार आज ७.१३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २१७०.२१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.८७ अंकले घटेर ४१४ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पौने ४ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
बजार जानकार मुक्ति अर्याल अल्पकालीन लगानीकर्ताहरुले नाफा बुक गर्दा बजारमा करेक्सन आएको बताउँछन्। ‘धेरै दिनदेखि साइडवेजमा चलेको बजार हिजो ७५ अंकभन्दा बढी र आज पहिलो सत्रमा ३५ अंकले बजार बढेको थियो’, उनले भने, ‘छोटो समयमै धेरै अंकले बढेको बजारमा नाफा बुक गर्दा करेक्सन आएको हो।’
अर्थतन्त्रका सूचकहरु राम्रो हुँदै जानु र तरलता पनि सहज हुँदै जानुले बजार पनि सकारात्मक नै हुने अर्यालको भनाइ छ।
सक्रिय लगानीकर्ता वैकुण्ठ पौडेल मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा बजारअनुकूल नीति आउने खबरले हिजो बजार ठूलो अंकले बढेको बताउँछन्। ‘आज प्रफिट बुक हुँदा बजारमा करेक्सन आएको हो’, उनले भने।
अहिलेको बजारमा दीर्घकालीन लगानीकर्ताभन्दा अल्पकालीन लगानीकर्ता हावी भएको पौडेल बताउँछन्। ‘त्यसैले थोरै नाफा पनि बुक गर्ने परिपाटी बढेको छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामात्रै हरियाली छाएको छ भने बाँकी सबैमा रातो पोतिएको छ।
यो दिन अन्य समूहमात्रै ०.५ प्रतिशतले उकालो लागेको हो।
आज वित्त समूह सर्वाधिक १.९४ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह १.४८ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.०६ प्रतिशत, विकास बैंक समूहमा ०.५९ प्रतिशत, जलविद्युत समूहमा १ प्रतिशत, लगानी समूहमा ०.१५ प्रतिशत, जीवन बीमा समूहमा ०.५३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७७ प्रतिशत, लघुवित्त समूहमा ०.३५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३० प्रतिशत र व्यापार समूहमा ०.५० प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २५७ कम्पनीका १ करोड ५ लाख २ हजार ६४९ कित्ता सेयर ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८१७ रुपैयाँमा कारोबार भएका छन्।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ११ करोड २८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको १० करोड २१ लाख रुपैयाँबराबरको कारोबार भएको आज ङादी ग्रुपको ८ करोड ९५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ८ करोड १८ लाख रुपैयाँ, शिवम सिमेन्टको ७ करोड ६१ लाख रुपैयाँ, एभरेस्ट बैंकको ७ करोड ३८ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ६ करोड ९० लाख रुपैयाँ, एचआईडीसीएलको ६ करोड ८७ लाख रुपैयाँ, तारागाउँ रिजेन्स होटेलको ६ करोड ८३ लाख रुपैयाँ र राधी विद्युतको ६ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज तेह्रथुम पावर र धौलागिरी लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो दुवै कम्पनीको सेयरभाउ ३ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन आदर्श लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ५ प्रतिशतले बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago