काठमाण्डौ । सेयर बजारमा सोमबार दोहोरो अंकको करेक्सन आएको छ। 

बजारमा आज २६.६६ अंकको करेक्सन आएको हो। योसँगै नेप्से परिसूचक २२००.५० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.१४ अंकले घटेर ४१८.७८ को विन्दुमा आर्लेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर पौने ५ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट आजको घटाइ नाफा बुक रहेको बताउँछन्। ‘यसलाई सामान्य करेक्सनका रुपमा लिनुपर्छ’, उनले भने। 

मौद्रिक नीति राम्रो नै आएको बिष्टको भनाइ छ। ‘त्यसैले डराउनुपर्ने अवस्था छैन’, उनले भने, ‘बजारमा हरेक करेक्सन खरिदकै अवसर हुनेछ।’

प्रणालीमा अहिले ५ खर्बको हाराहारीमा तरलता रहेको बिष्टको भनाइ छ। ‘अब सेयर धितो कर्जा पनि बढ्छ’, उनले भने, ‘उता घर–जग्गाको कर्जा पनि सहज हुन्छ।’

आजको करेक्सनमा ठूला र टाठाबाठा लगानीकर्ताले खरिद गरेको हुन सक्ने बिष्ट बताउँछन्। 

बजार जानकार गोविन्दप्रसाद घिमिरे पनि आजको घटाइलाई करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘मौद्रिक नीतिमार्फत आएका कर्जाको जोखिम भारको व्यवस्थामा लगानीकर्ता अल्मलिँदा आज बजार घटेको हुन सक्छ’, उनले भने। 

मौद्रिक नीतिले राष्ट्र बैंक विस्तारै लचिलो हुँदै गएको प्रस्ट हुने घिमिरेको भनाइ छ। ‘विस्तारै खुकुलो गर्दै जाने रणनीतिमा राष्ट्र बैंक रहेको अनुमान गर्न सकिन्छ’, उनले भने। 

राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा बैंकरहरु पनि सकारात्मक नै रहेको घिमिरे बताउँछन्। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ। 

यो दिन अन्य समूह २.८७ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूहमा ०.९५ प्रतिशतको बढोत्तरी भएको छ। 

आज विकास बैंक समूह सर्वाधिक ३.५ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह २.९२ प्रतिशतले घट्दा बैंकिङ समूहमा २ प्रतिशत, वित्त समूहमा १.९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.०१ प्रतिशत, जलविद्युत समूहमा ०.५ प्रतिशत, लगानी समूहमा १.४५ प्रतिशत, जीवन बीमा समूहमा १.१६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.८९ प्रतिशत, लघुवित्त समूहमा १ प्रतिशत र निर्जीवन बीमा समूहमा १.१४ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६५ कम्पनीका २ करोड ९ लाख ७९ हजार ८८७ कित्ता सेयर ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २५ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। ग्लोबल आइएमई बैंकको १९ करोड १६ लाख रुपैयाँबराबरको कारोबार भएको आज प्रभु बैंकको १५ करोड १९ लाख रुपैयाँ, शिवम सिमेन्टको १३ करोड ३९ लाख रुपैयाँ, कुमारी बैंकको १३ करोड १४ लाख रुपैयाँ, नबिल बैंकको ११ करोड १६ लाख रुपैयाँ, सोल्टी होटेलको १० करोड ४९ लाख रुपैयाँ, नेपाल टेलिकमको १० करोड २० लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १० करोड १३ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ९ करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज किसान लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 
यो दिन लिबर्टी इनर्जीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।