काठमाण्डौ । सेयर बजारको लगाताको गिरावटमा ब्रेक लागेको छ। आज बजार ५.८४ अंकले बढेको छ। योसँगै नेप्से परिसूचक २१०६.१८ को विन्दुमा उक्लिएको छ। 

उता राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.१८ अंकले बढेर ४०१.८५ को विन्दुमा उक्लिएको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर १ अर्ब ८५ करोड रुपैयाँको भएको छ। 

बजार जानकार अजयसिंह थापा (जयशम्भु) आजको बढाइले बजारमा लगभग करेक्सन सकिएको मान्न सकिने बताउँछन्। ‘वित्तीय रुपमा सबै सूचकहरु राम्रा छन्, व्यापार घाटा कम छ’, उनले भने, ‘त्यसैले अब बजार सकारात्मक हुन्छ।’

प्राविधिक रुपमा बजारमा आज बुलिस इन्भर्टेड ह्याम्मर बनेको थापा बताउँछन्। ‘भोलुम कम आएको छ’, उनले भने, ‘यसले बजार रिभर्सल हुने सम्भावना देखिन्छ।’

बजारले २१०० को विन्दुमा सपोर्ट लिएर हायर हाईको सिरिजहरु बनाउँदै गरेकोले प्राविधिक रुपमा लगभग करेक्सन सकिएको मान्न सकिने थापाको भनाइ छ। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट बजार घट्न रोकिएको बताउँछन्। ‘अब बजार बढ्नलाई कम्पनीहरुको चौथो त्रैमासको रिपोर्टले सपोर्ट गर्नेछ’, उनले भने, ‘अब बजार घट्ने सम्भावना कम छ र विस्तारै माथि नै जाने देखिन्छ।’

बजारले २२०० मा धेरैपटक प्रतिरोधको सामना गरेकोले अब ब्रेक गरेर माथि जान सक्ने बिष्टको भनाइ छ। ‘किनकि बैंकहरुमा ४ खर्ब लगानीयोग्य रकम रहेको छ भने बैंकिङ प्रणालीमा ८० अर्ब रुपैयाँबराबरको अधिक तरलता रहेको छ’, उनले भने, ‘कर्जाको ब्याज अहिले नै सस्तो नभए पनि दसैँपछि एकल अंकमा आउने देखिन्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक १.९७ प्रतिशतले उकालो लागेको छ। वित्त समूह १.२६ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.७४ प्रतिशत, विकास बैंक समूहमा ०.४६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.०६ प्रतिशत, लगानी समूहमा ०.१४ प्रतिशत, जीवन बीमा समूहमा ०.०२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०४ प्रतिशत र अन्य समूह ०.०८ अंकले उकालो लागेको छ। 

आज जलविद्युत समूह सर्वाधिक ०.३७ प्रतिशतले ओरालो लागेको छ। लघुवित्त समूह ०.१० प्रतिशतले घट्दा म्युचुअल फन्ड समूहमा ०.०५ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६२ कम्पनीका ५५ लाख ३१ हजार ७३७ कित्ता सेयर १ अर्ब ८५ करोड ८० लाख २ हजार १७६ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन शिवम सिमेन्टको ८ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सोल्टी होटेलको ५ करोड ४७ लाख रुपैयाँबराबरको कारोबार भएको आज एसियन लाइफ इन्स्योरेन्सको ४ करोड ९१ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ४ करोड ६१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड ३ लाख रुपैयाँ, एभरेस्ट बैंकको ३ करोड ९२ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ३ करोड ७८ लाख रुपैयाँ, प्रोग्रेसिभ फाइनान्सको ३ करोड ७५ लाख रुपैयाँ, फर्स्ट माइक्रोफाइनान्सको ३ करोड ५४ लाख रुपैयाँ र नबिल बैंकको ३ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज बलेफी हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा उकालो लागेको छ। 

यो दिन विन नेपाल लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ४ प्रतिशतले बढीले ओरालो लागेको छ।