काठमाण्डौ । सेयर बजारमा सोमबार सामान्य अंकको सुधार आएको छ। 

बजार आज ५.०९ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९९८.४८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.४५ अंकले बढेर ३८३.५६ को विन्दुमा पुगेको छ। कारोबार रकम भने घटेर १ अर्ब रुपैयाँ मुनिको भएको छ। 

बजार जानकार प्रकाश रजौरे बजार माथिको बाटो तय गर्दै गरेको बताउँछन्। ‘बजार राष्ट्र बैंक चालु पुँजी कर्जामा केही लचक भएको सकारात्मक खबर पनि आएको छ’, उनले भने, ‘बजार अझै केही नीतिगत परिवर्तन खोजेको छ।’

अहिलेको अवस्थामा धितोपत्र बोर्डले राम्रो भूमिका खेलेमा बजारले गति लिने रजौरेको भनाइ छ। ‘धितोपत्र बोर्ड बजारमा आपूर्तिमात्रै बढाउने तर माग सिर्जना गर्ने काम गरेको छैन’, उनले भने, ‘अहिले केही कम्पनीहरुलाई प्रिमियममा आईपीओ जारी गर्ने अनुमति दिनु मूल्य जस्टिफाई नभएको देखिन्छ।’

बजारमा नयाँ ब्रोकरहरु पनि आउँदै गर्दा र मार्जिन लेन्डिङका कुराहरु उठ्दै गर्दा बजारमा आशा गर्ने ठाउँ रहेको रजौरे बताउँछन्। 

अर्का बजार जानकार अजयसिंह थापा (जयशम्भु) बजारले लगभग यहीँ नै बटम लगाइसकेको बताउँछन्। ‘नेप्सेमा फलिङवेज प्यट्रान बनेको छ। यसले बजार १९७० भन्दा तल जाँदैन भन्ने संकेत गर्छ’, उनले भने। 

बजारमा अहिले एकुमुलेसन चलिरहेको थापा बताउँछन्। ‘भदौ १५ भित्र बजारले एउटा गतिलो मुभ लिन सक्छ’, उनले भने।

आज कारोबार घट्नुले बजारमा किन्ने र बेच्ने दुवै निष्क्रिय भएको बुझ्न सकिने थापाको भनाइ छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ०.८१ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ०.७० प्रतिशत बढ्दा बैंकिङ समूहमा ०.५२ प्रतिशत, वित्त समूहमा ०.१३ प्रतिशत, लगानी समूहमा ०.२९ प्रतिशत, जीवन बीमा समूहमा ०.२२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.१३ प्रतिशत र व्यापार समूहमा ०.६५ प्रतिशतले बढोत्तरी भएको छ। 

आज अन्य समूह सर्वाधिक ०.२८ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ०.०९ प्रतिशतले घट्दा उत्पादन तथा प्रशोधन समूहमा ०.०४ प्रतिशत र जलविद्युत समूहमा ०.२५ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७९ कम्पनीका ३६ लाख ७० हजार ७३१ कित्ता सेयर ९८ करोड ८६ लाख २८ हजार ५६२ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन लक्ष्मी सनराइज बैंकको सर्वाधिक ७ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सोल्टी होटेलको ४ करोड ९८ लाख रुपैयाँबराबरको कारोबार भएको आज आईएमई लाइफ इन्स्योरेन्सको ३ करोड ८४ लाख रुपैयाँ, घोराही सिमेन्टको २ करोड ५१ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ४४ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको २ करोड १८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ८ लाख रपैयाँ, माछापुच्छ्रे बैंकको २ करोड ६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ८२ लाख रुपैयाँ र अपी पावरको १ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज कुथेली बुखरी स्मल हाइड्रोपावरका सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

यो दिन स्वाभिमान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ४ प्रतिशत बढीले ओरालो लागेको छ।