काठमाण्डौ । सेयर बजार बुधबार सामान्य अंकले उकालो लागेको छ।

बजार आज ५.१७ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १८६३.९४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.२१ अंकले बढेर ३५८.४० को विन्दुमा पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर पौने १ अर्ब रुपैयाँको मात्रै भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल फेस्टिभ मुड चलिरहेकोले पनि बजार कारोबार घटेको बताउँछन्। ‘घटेर सेयर बेच्न नचाहँदा पनि कारोबार नबढेको हुन सक्छ’, उनले भने। 

हिजो र आजको बजारलाई विश्लेषण गर्दा बजार घट्ने क्रम रोकिएको मान्न सकिने लम्साल बताउँछन्। ‘अर्को कुरा भनेको बजार १८०० भन्दा तल जाँदैन भन्ने मान्न सकिन्छ’, उनले भने। 

मंसिरमा ब्याजदर घट्न सक्ने लम्सालको भनाइ छ। ‘राष्ट्र बैंकले पनि नीतिगत फेरबदल गर्न सक्छ’, उनले भने।

बजार जानकार सूर्यनारायण पौडेल पनि चडपर्व सिजन भएकोले बजारमा कारोबार बढ्न नसकेको बताउँछन्। ‘चाडपर्वमा प्रायः यस्तै हुन्छ’, उनले भने, ‘अब मंसिर लागेपछि बजारमा आशा गर्न सकिन्छ।’

माग नबढेसम्म बजारमा ठूलो उतारचढाव नहुने पौडेलको भनाइ छ। ‘ठूला लगानीकर्ता पनि बजार पसेका छैनन्’, उनले भने।  

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। यो दिन म्युचुअल फन्ड समूह स्थिर रहेको छ। 

उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.१६ प्रतिशतले बढेको छ। अन्य समूह ०.७३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.२५ प्रतिशत, वित्त समूहमा ०.३३ प्रतिशत, जलविद्युत समूहमा ०.६५ प्रतिशत, जीवन बीमा समूहमा ०.५१ प्रतिशत, लघुवित्त समूहमा ०.२४ प्रतिशत र व्यापार समूहमा ०.२० प्रतिशतको बढोत्तरी भएको छ। 

आज होटेल तथा पर्यटन समूह सर्वाधिक ०.६४ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह ०.४३ प्रतिशतले घट्दा विकास बैंक समूहमा ०.३८ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.२३ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २८८ कम्पनीका ३१ लाख ५७ हजार ६२ कित्ता सेयर ७८ करोड २७ लाख ४३ हजार २६५ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन सोनापुर मिनरल्सको सर्वाधिक ५ करोड ६१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन बैंकको संस्थापक सेयरको ५ करोड २३ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ करोड ६० लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सको २ करोड ६४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको २ करोड ३८ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ३५ लाख रुपैयाँ, घोराही सिमेन्टको २ करोड ३५ लाख रुपैयाँ, सोल्टी होटेलको २ करोड १७ लाख रुपैयाँ, सिटिजन लाइफको २ करोड १६ लाख रुपैयाँ र हाथवे इन्भेस्टमेन्टको १ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ग्लोबल आइएमई लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।