काठमाण्डौ । बुधबार नेप्से परिसूचक ५.३१ अंकले बढेको छ । नेप्से परिसूचक बढेर १३४२.३६ को विन्दूमा पुगे पनि कारोबार रकम चाहि केही घटेर १ अर्ब ८ करोडमा सीमित बन्न पुगेको छ । 

नेप्से परिसूचकमा सामान्य बढोत्तरी हुनु र कारोबार रकम १ अर्ब माथि पुग्नुलाई सकारात्मक रुपले हेर्नुपर्ने विश्लेषकहरु बताउँछन् । यो दिन अघिल्लो दिनको तुलनामा बिक्री गर्नेहरु घट्दा कारोबार रकममा केही संकुचन देखिए पनि त्यसको तुलनामा खरीद गर्नेहरुको चाप बढेका कारण नेप्से परिसूचकमा भने सुधार देखिएको उनीहरुको तर्क छ । 

बुधबारको बजारमा ४ समूहका उपसूचकमा झिनो गिरावट आए पनि बाँकी सबै समूहको उपसूचकमा राम्रो बढोत्तरी भएको देखियो । 

विकास बैंक समूह २.२३ अंकले घटेको यो दिन जलविद्युतत समूहमा ६.१२ अंक, उत्पादन तथा प्रशोधन समूहमा ११.०७ अंक र म्युचुअल फण्ड समूहमा ०.१३ अंकको गिरावट देखियो । 

बाँकी सबै समूहको सूचक हराभरा भए । बैंकिङ समूह ३.७७ अंकले बढेको यो दिन व्यापार समूहमा २८.०४ अंक, होटल समूहमा ५३ अंक, बित्त समूहमा ५.४ अंक, निर्जीवन बिमा समूहमा २६.४८ अंक, अन्य समूहमा ११.१३ अंक, माइक्रोफाइनान्स समूहमा ६.०२ अंक र जीवन बिमा समूहमा ३८.२६अंकको बढोत्तरी भयो । 

यो दिन राम्रा र बलिया कम्पनीको सेयरमा खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ०.९३ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.३ अंकको वृद्धि देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७७ कम्पनीका ३२ लाख ६० हजार १९८ कित्ता सेयर १ अर्ब ८ करोड २४ लाख ८३ हजार ९०९ रुपैयाँमा किनबेच भयो। 

सबैभन्दा बढी सिभिल बैंकले १३ करोड बढीको कारोबार गर्यो । स्टक डिलर कम्पनीको रुपमा बजारमा प्रवेशको तयारी गरेको नागरिक लगानीकोषको सेयरमा लगानीकर्ताको विशेष आकर्षण देखियो । जसका कारण उच्च मूल्य बढेको यो कम्पनीले ६ करोड २० लाख बढीको कारोबार गरेको छ । 

गुराँस लाइफ इन्स्योरेन्सले ५ करोड ८९ लाख, नेपाल इन्स्योरेन्सले ४ करोड ७ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ५५ लाख, सूर्या लाइफ इन्स्योरेन्सले २ करोड ४९ लाख, नेको इन्स्योरेन्सले २ करोड २७ लाख, एनआइसी एशिया बैंकले २ करोड २० लाख, ग्लोबल आइएमई बैंकले २ करोड १४ लाख र प्रभू बैंकले २ करोड २ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पनि सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेर प्रतिकित्ता ९९३ रुपैयाँ पुगेको छ । 

यो दिन सिभिल बैंकको मूल्यमा पनि ९ प्रतिशतको हाराहारीले बढोत्तरी भयो । 

नागरिक लगानीकोषको मूल्य ७.०८ प्रतिशतले बढेको यो दिन कर्णाली डेभलपमेन्ट बैंकको मूल्यमा ६.२५ प्रतिशतको बढोत्तरी भयो ।