काठमाण्डौ । लघुवित्त र बिमा कम्पनीका सेयरमूल्यमा निरन्तर बढोत्तरी भइरहँदा आजबाट बैंकिङ समूहमा समेत उछाल आउने प्रारम्भिक संकेत देखाएको छ।

नेपालमा नेप्से इन्डेक्सलाई आधार बनाएरै दोस्रो बजारमा सेयर कारोबार गर्दै आएका लगानीकर्ताले नेप्से इन्डेक्स १३५० को विन्दुलाई प्रतिरोधका रुपमा लिएका थिए। धेरै समय नेप्से इन्डेक्स १३५० विन्दु पार गर्न कठिन भइरहेको बेला हिजो आइतबार इन्डेक्स १३६० विन्दु पार गर्नु पनि सेयर बजार बढ्नुको अर्को मनोवैज्ञानिक कारण हो। यही १३६० को विन्दु पार गरेकै कारण आज नेप्से इन्डेक्स १४०० को विन्दुसमेत पार गरेको थियो तर अन्तिम समयमा आएर झिनो अंकले घटेर १३९८.२४ को विन्दुमा रोकिन पुग्यो।

यो साता कारोबारको दोस्रो दिन सोमबार राम्रा र बलिया बैंकहरुमा लगानीकर्ता झुम्मिएका छन्। ब्रोकर हाउसहरुमा भेटिएका लगानीकर्ताहरुका अनुसार लघुवित्त र बिमा कम्पनीहरुबाट आर्जित नाफालाई बैंकमा लगानी गर्ने बेला आएको छ।

उसो त धितोपत्र दोस्रो बजारका लगानीकर्ताले अर्थमन्त्री युवराज खतिवडाको बहिर्गमन सुनिश्चित भएको दाबी गर्दै सेयर कारोबारसमेत बढाउँदै लगेका देखिन्छ। स्रोतहरुका अनुसार पछिल्लो समय जग्गा बेचेर ल्याइएका केही पैसा दोस्रो बजारमा आउँदासमेत दैनिक कारोबार रकम २ अर्ब नाघेको छ।

सोमबार कारोबार रकमले करिब ३ वर्षअघिको रेकर्ड ब्रेक गरिदिएको छ। सन् २०१७ अप्रिल ३ मा कारोबार रकम २ अर्ब ४४ करोड २५ लाख ९० हजार रुपैयाँ रहेको थियो। त्यसलाई समेत उछिन्दै सोमबार २ अर्ब ६८ करोड ७५ लाख ३३ हजार ४४२ रुपैयाँको सेयर कारोबार भयो। हालसम्म नेप्सेमा सर्वाधिक कारोबार भएको रेकर्ड सन् २०१६ जुलाईमा कायम भएको थियो। त्यसबेला २ अर्ब ७५ करोड बढीको एकैदिन कारोबार भएको थियो। सोमबारको कारोबार रकम नेप्सेमा हालसम्मकै दोस्रो उच्च हो। 

आजको दिन नेप्से उपसमूहमा रहेका १२ वटै समूहमा हरियाली छाएको छ। 

यो दिन सबैभन्दा धेरै निर्जीवन बिमा र जीवन बिमा समूहमा उछाल आएको छ। निर्जीवन बिमा समूहमा १८१.८२ अंक र जीवन बिमा समूहमा ११७.७२ अंकको बढोत्तरी आयो। त्यस्तै बैंकिङ समूह र विकास बैंक समूह क्रमशः ४१.१३ अंक र २७.३ अंकले बढ्यो। 

यसैगरी व्यापार समूहमा ४१.९७ अंक, होटेल्स समूहमा २०.९४ अंक, जलविद्युत् समूहमा ३२.१८ अंक, वित्त समूहमा ९.७९ अंक, उत्पादन तथा प्रशोधन समूहमा १०.६५ अंक, अन्य समूहमा ६.२१ अंक, लघुवित्त समूहमा ९.६७ अंक र म्युचुअल फन्ड समूहमा ०.१ अंकको बढोत्तरी आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आजको दिन नेप्सेमा सूचीकृत १७५ कम्पनीका ६४ लाख ७४ हजार ७५० सेयर २ अर्ब ६८ करोड ७५ लाख ३३ हजार ३३२ रुपैयाँमा कारोबार भयो। 

आज शिवम् सिमेन्ट, शिखर इन्स्योरेन्स र हिमालयन डिस्टिलरीले १० करोड रुपैयाँभन्दा माथिको कारोबार गर्न सफल भए। शिवम् सिमेन्टले १२ करोड ९४ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ११ करोड २१ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीले १० करोड २९ करोड रुपैयाँ बढीको कारोबार गरे। 

यसैगरी नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड २ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको ८ करोड ९९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ८ करोड ७५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको ७ करोड ९८ लाख रुपैयाँ, एनएमबी बैंकको ७ करोड ५५ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको ६ करोड ३८ लाख रुपैयाँ र ग्रामीण विकास लघुवित्तको ६ करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भयो। 

धेरै कमाउने र गुमाउनेहरु

यो दिन तीनवटा कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। पञ्चकन्या माई हाइड्रोपावर, ङादी ग्रुप पावर र राष्ट्रि बिमा कम्पनीका सेयरमूल्यमा १० प्रतिशतले बढ्दै सर्किट लागेको हो।

राष्ट्रिय बिमा कम्पनीकै संस्थापक सेयरमा ९ प्रतिशतभन्दा बढीले बढेको आजको दिन अरुण काबेलको सेयरमा ९ प्रतिशतको हाराहारीमा र सेन्ट्रल फाइनान्स तथा नबिल इक्विटीमा ८ प्रतिशत बढीले बढ्यो।

यो नेपाल हाइड्रो डेभलपर्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्य झन्डै ६ प्रतिशतको हाराहारीमा घट्यो।