काठमाण्डौ । सेयर लगानीकर्ता संघले सोमबार बजारमा गएको पहिरोको कारण पत्ता लगाई समाधानको उपाय खोज्न सम्बद्ध निकायसँग आग्रह गरेको छ । 

संघका अध्यक्ष उत्तम अर्यालले साँझ एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । 

उनले सोमबार सेयर बजारमा आएको गिरावटलाई अप्रत्यासित भनेका छन् । यो दिन बजार मापक परिसूचक(नेप्से) ६ प्रतिशतले घटेपछि करिब डेढ घण्टाअघि नै कारोबार बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । 

संघले यो अवस्थाप्रति चिन्ता समेत व्यक्त गरेको छ । 

‘लामो समयको पुँजी बजारको गिरावटपछि भर्खर बुलतर्फ पाइला सार्न लागेको बजारमा आजको गिरावटले लगानीकर्तामा आएको उत्साह र विश्वासमा ठूलो ठेस पुग्ने यस संघलाई लागेको छ ।’ संघले विज्ञप्तिमा भनेको छ–‘यसरी अप्रत्यासित रूपमा पुँजीबजारमा आएको गिरावटको विश्लेषण गरी त्यसका कारणहरू निर्क्यौल गरी सम्बन्धित निकायले समाधानका उपायहरू अबलम्बन गर्न अत्यन्त जरूरी भइसकेको  र  तत् तत् निकायहरूबाट बजार विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कार्यहरू कार्यान्वयन गर्न ढिला गर्न नहुनेतर्फ ध्यानाकर्षण गराउन चाहान्छौं।’

संघले नागरिक लगानीकोष लगायतका कम्पनीलाई मार्केट मेकरको रुपमा कारोबारमा सहभागी गराउने सरकारी कदमको शीघ्र कार्यान्वयन गर्न, अल्पकालीन र दीर्घकालीन लगानीकर्ताको वर्गीकरण गर्न, दीर्घकालीन लगानीकर्तालाई सहुलियतको घोषणा जस्ता कार्य पनि तत्काल गर्न आग्रह गरेको छ । यस्ता काम तत्काल गर्ने हो भने सोमबारको जस्तो पहिरो रोक्न सकिने संघको दाबी छ । 

संघले सेयर खरीदबिक्री गर्दा कसैको लहैलहैमा नलाग्न समेत लगानीकर्तामा आह्वान गरेको छ । ‘आफ्नो लगानीलाई सुझबुझका साथ स्वविवेक प्रयोग गरी र कुनै अफवाहको पछाडि नलागी शेयर बजारमा लगानी गर्नुहुन सम्पूर्ण लगानीकर्ताहरूमा हार्दिक अनुरोध गर्दछौं ।’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।