काठमाण्डौ । सेयर बजारमा फेरि भीषण पहिरो गएको छ ।
बुधबार सेयर बजार परिसूचक(नेप्से)मा ६८.४७ अंकको पहिरो गएको हो ।
योभन्दा भीषण पहिरो गई बजारमै नेगेटिभ सर्किट लागेर कारोबार अवधिभन्दा अगाडि बन्द भएको भोलिपल्ट मंगलबार बजारमा दोहोरो अंकको सुधार भएको थियो । तर, त्यो सुधारलाई एक दिन पनि टिक्न दिइएन । बुधबार पुनः बजारमा भीषण पहिरो झार्ने काम गरिएको हो ।
स्रोतहरुको दाबीलाई आधार मान्ने हो भने बुधबारको बजारको तीव्र गिरावटपछि पनि चलखेल नै मुख्य कारण रहेको छ । नेप्सेसँगको केही द्वन्द्वका कारण ब्रोकरहरुकै मिलेमतोमा सुनियोजित रुपमा बजारलाई घटाउने खेल भएको स्रोतहरु बताउँछन् ।
विश्लेषकहरु समेत कुनै कारणबिना नै बजारमा भीषण पहिरो झार्ने काम भएको भन्दै यसको छानबिन हुनुपर्ने माग गर्न थालेका छन् । ‘बैंकहरुको ब्याजदर समेत घटिरहेको, तरलताको अवस्थामा व्यापक सुधार भएको, कोरोना भाइरसका कारण अन्य क्षेत्र सुस्त बनी त्यहाँको पैसा समेत बजारमै प्रवेश भइरहेको अवस्थामा नै चलखेल गरी बजार घटाइएको छ ।’ जानकारहरु भन्छन्–‘नेप्से र ब्रोकरहरुको टसलले सोझा लगानीकर्ताहरुको करोडौंको लगानीलाई जोखिममा पार्ने काम गरियो, यसमा छानबिन हुनुपर्छ ।’
कतिपयले भने अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडा नै निरन्तर हुनु, कोरोना भाइरसले अर्थतन्त्र थिलथिलो हुँदा त्यसको नकारात्मक असर पर्नु जस्ता कारणले बजारमा तीव्र गिरावट आएको दाबी गरेका छन् ।
कतिपयले भने बजारलाई हिजोको दिनमा बुल रनको बाहानामा बेलुन झै फुलाइएको, अहिले त्यो फूट्दा अत्यासलाग्दो गिरावटको अवस्था बनेको दाबी समेत गरिरहेका छन् ।
तर, मुख्य रुपमा पछिल्ला ३ दिनको बजारमा गतिविधि हेर्दा भित्रभित्रै निकै ठूलो खेल भइरहेको प्रष्टै बुझ्न सकिने जानकार बताउँछन् । घरी बजार कारोबारको सिस्टम बिगार्नु, ब्रोकर हाउसहरुमा ब्रोकरहरुले नै बजार अब घट्दैछ, सेयर बेचिहाल्नू भन्ने उर्दी जारी गर्नु, म्युचुअल फण्डहरुलाई अहिले सेयर नकिन्नू, यस्तोमा पाइँदैछ, भन्ने जस्ता उर्दी ब्रोकरबाटै आउनुले पनि चलखेल भएको बुझ्न सकिने स्रोतहरु दाबी गर्छन् ।
यिनै कारण भीषण पहिरोको सामना गरेको बुधबारको बजारमा राम्रा र बलिया कम्पनीको सेयरमूल्यमा तीव्र गिरावट आयो । यही कारण सेन्सेटिभ इण्डेक्समा एकैदिन १५.१७ प्रतिशतको पहिरो गयो । समग्र कारोबार मापक फ्लोट इण्डेक्समा पनि ४.८३ अंकको गिरावट आयो ।
भीषण पहिरोको सामना गरी १४४१.२० को विन्दूमा सीमित बन्न पुगेको बजारमा अधिकांश समूहका उपसूचकमा पनि अत्यासलाग्दो गिरावट देखियो ।
राष्ट्रबैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षामार्फत लाभांशमा कस्ने गरी नयाँ व्यवस्था गरिदिएका कारण माइक्रोफाइनानस कम्पनीहरुको सेयरमूल्यमा झनै ठूलो अत्यासको अवस्था देखिएको छ । मंगलबार पनि अधिकांश माइक्रोफाइनान्सको मूल्यमा पहिरो गएको थियो भने बुधबार समेत यो क्रमले निरन्तरता पायो । यहीकारण माइक्रोफाइनान्स समूहको उपसूचक १४८.२५ अंकले घट्यो ।
यो दिन बैंकिङ समूह ६०.९७ अंक, व्यापार समूह २.९७, होटल समूहमा ८०.०४ अंक, विकास बैंक ७२.१४ अंक, जलविद्युत समूह २९.९६ अंक, वित्त समूह १४.१, निर्जीवन बिमा समूह ७०६.९५ अंक, उत्पादन तथा प्रशोधन समूह ८८.६७ अंक, अन्य समूह २८.५ अंक, जीवन बिमा समूह ४५६.९६ अंक र म्युचुअल फण्ड समूहको उपसूचक ०.१२ अंकले घटे ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७४ कम्पनीका ६७ लाख ७१ हजार १४१ कित्ता सेयर २ अर्ब ९० करोड ८४ लाख ७२ हजार ६०३ रुपैयाँमा कारोबार भयो ।
सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले २६ करोड ६६ लाख बढीको कारोबार गर्यो ।
त्यसपछि एनएमबी बैंकले १३ करोड ८९ लाख, हिमालयन डिस्टीलरीले १३ करोड २२ लाख, एनआइसी एशिया बैंकले १३ करोड १ लाख , गुराँस लाइफ इन्स्योरेन्सले १० करोड ६ लाख, नवील बैंकले ९ करोड १६ लाख, ग्लोबल आइएमई बैंकले ७ करोड ५४ लाख, प्रभू बैंकले ७ करोड ३ लाख, नेपाल बैंकले ६ करोड ६४ लाख र शिवम सिमेन्टले ६ करोड ५३ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा ९ वटा कम्पनीको सेयरमूल्य मात्र बढ्यो । सामुदायिक लघुवित्तको सेयरमूल्य ५.१७ प्रतिशतले बढ्यो । यस्तै, रिलायन्स फाइनान्सका लगानीकर्ताको सम्पत्ति समेत ५.०४ प्रतिशत बढ्यो ।
यो दिन माइक्रोफाइनान्स कम्पनीहरुको सेयर मूल्यमा भीषण पहिरो गयो । ११ वटा माइक्रोफाइनान्स कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लाग्यो ।
नेशनल माइक्रोफाइनान्स, नेपाल सेवा लघुवित्त, स्वदेशी लघुवित्त र कालिका माइक्रोक्रेडिटको सेयर मूल्य १० प्रतिशतले घट्यो ।
यस्तै, स्पर्श लघुवित्त, सिभिल लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, घोडीघोडा लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, फ्रस्ट माइक्रोफाइनान्स र गणपति माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो । यो दिन प्राय सबै माइक्रोफाइनान्सका लगानीकर्ताले अत्यासलाग्दो गिरावटको सामाना गर्नुपर्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19