काठमाण्डौ । यो साता कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचकमा भारी अंकले पहिरो गएको छ।

नेप्से परिसूचकमा गत बिहीबारको तुलनामा करिब ३ प्रतिशत अर्थात् ४२.७८ फराकिलो अंकको भारी गिरावट आएको हो। योसँगै नेप्से परिसूचक १३९६.२८ को विन्दुमा झरेको छ। नेप्से परिसूचकमा गएको भीषण पहिरोका कारण सबै उपसमूहहरुसमेत राताम्मै भएका छन्। 

लकडाउन अन्त भएपछि देशभर कोरोना महामारी समुदायस्तरमै फैलिसकेको समाचार आइरहनु र कतिपय सहरहरुले लकडाउनलाई निरन्तरता दिन थालेपछि त्यसको सोझो असर सेयर बजारमा समेत पर्न थालेको विश्लेषकहरु बताउँछन्। अब देशभर नै लकडाउन हुने भयले समेत लगानीकर्ताहरुमा ठूलो भय र त्रास उत्पन्न भएको उनीहरुको ठम्याइ छ। सोही भय र त्रासले साना लगानीकर्ताहरु अत्तालिँदै बजारबाट बाहिरिन थालेका छन्।

सेयर धितोकर्जाको सीमा खुकुलो हुँदा र ब्याजदरसमेत सिंगल डिजिटमा आउँदा लगानीकर्ताहरु बजारबाट आगामी दिनमा ब्याजदरलाई धान्ने लाभांश आउन नसक्ने ठहरकासाथ सेयर कर्जामा समेत जोखिम लिन नसकेको बैंकरहरु बताउँछन्। तरलता र ब्याजदरले बजारलाई थप टेवा दिने तर कोरोनाले अर्थतन्त्रलाई थप जटिल मोडमा लैजाने हुँदासमेत सेयर धितोकर्जाहरु लिन उत्साहित नभएको लगानीकर्ताहरु बताउँछन्।

नेप्से परिसूचक १५ सय विन्दु माथि गएका बेला लगानीकर्ताको एक झुन्डले प्रफिट बुक गरेका र उनीहरु नेप्से परिसूचक अझै घटेपछि मात्र सेयर कर्जा लिन आउने मुड बनाइरहेका एक विकास बैंकका अधिकारी बताउँछन्। हुन पनि स्मार्ट लगानीकर्ता नेप्से परिसूचकको उत्तारचढावलाई अवसरका रुपमा लिन्छन्। उनीहरु दैनिक सेयर कारोबार गर्दैनन्। उनीहरु बजारको समग्र विश्लेषण र बजारको दिशालाई नजिकबाट नियाल्दै ठूलो उत्तारचढावमा किनबेचको निर्णय गर्दछन्। 

नेप्से परिसूचक १५ सय विन्दु माथि जाँदा नै स्मार्ट लगानीकर्ताले प्रफिट बुक गरेर बसेका छन्। उनीहरु नेप्से परिसूचक आगामी दिन थप ओरालो यात्रा हुने भएकाले मौका कुरेर बसिरहेका र सेयर खरिद गर्ने मनस्थिति बनाइरहेका विश्लेषकहरु बताउँछन्।

समग्रमा नेप्सेमा परिसूचक र उपसमूहमा गएको पहिरो थप निरन्तर पाउने प्राविधिक विश्लेषकहरु बताउँछन्।

आज नेप्से उपसमूहमा रहेका १२ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन जीवन बीमा समूहमा सबैभन्दा बढी २८३.८ अंकको गिरावट आयो। निर्जीवन बीमा समूहमा पनि २३१.६६ अंकको गिरावट देखिएको छ। 

यसैगरी बैंकिङ समूहमा ४१.४८ अंक, व्यापार समूहमा १६.७ अंक, होटेल्स् समूहमा ७१.४३ अंक, विकास बैंक समूहमा ५४.४ अंक, जलविद्युत् समूहमा १४.४१ अंक, वित्त समूहमा १४.२५ अंक, उत्पादन तथा प्रशोधन समूहमा ६६.६२ अंक, अन्य समूहमा १२.२६ अंक, लघुवित्त समूहमा ७४.७७ अंक र म्युचुअल फन्ड समूहमा ०.०७ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १८९ कम्पनीका ४६ लाख ६१ हजार ६०८ कित्ता सेयर १ अर्ब ८४ करोड १२ लाख ४२ हजार ३३२ रुपैयाँमा कारोबार भयो। 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भयो। यो कम्पनीको मात्रै २२ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भयो। 

त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ५६ लाख रुपैयाँ, एनएमबी बैंकको ८ करोड ४१ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ७ करोड ३५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ६ करोड ९९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ६ करोड ४१ लाख रुपैयाँ, नबिल बैंकको ५ करोड २६ लाख रुपैयाँ, एनसीसी बैंकको ४ करोड ३७ लाख रुपैयाँ, एनआईसी एसिया लघुवित्तको ४ करोड ११ लाख रुपैयाँ र नेपाल बैंकको ३ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भयो। 

धेरै कमाउने र धेरै गुमाउने 

आज तीनवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। आरम्भ चौतारी लघुवित्त, अजोड इन्स्योरेन्स र नेपाल फाइनान्सको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन छ्याङ्दी हाइड्रोपावरको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। 

आज जोशी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्य झन्डै १० प्रतिशतले घटेर नेगेटिभ सर्किट लाग्यो।