काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले अफिसियल कामकाजका लागि सकेसम्म कम मात्रै नेप्सेमा आउन सदस्य दलाल(ब्रोकर)हरुलाई निर्देशन दिएको छ । 

कोभिड १९ को संक्रमण बढिरहेको सन्दर्भमा नेप्सेले मंगलबार एक विज्ञप्ति जारी गरी सदस्य दलालहरुले नेप्सेसँग गर्नुपर्ने काम कार्यबाहीका लागि भौतिक उपस्थितिलाई संभव भएसम्म कम गर्न भनेको हो । 

नेप्सेमा पेश गर्नुपर्ने कागजातहरु यथासंभव इमेलमार्फत अभौतिक रुपमा(पिडिएफ) फाइल पठाउन समेत नेप्सेले निर्देशन दिएको छ ।

ब्रोकरहरुले पेश गर्ने बैंक ग्यारेण्टी, संस्थापक सेयरको कारोबार गर्न तथा गराउन आवश्यक कागजात, सूचिकृत कम्पनीहरुले सूचिकरण नवीकरण वार्षिक शुल्क, सूचिकृत सम्झौताअनुरुपका जानकारी तथा विवरणहरुका लागि विद्युतीय माध्यम प्रयोग गर्न भनिएको छ । 

लगानीकर्ताहरुले सदस्य दलालमार्फत पूँजीगत लाभकर प्रमाणीकरण सिफारिसका लागि पेश गर्ने निवेदन आवश्यक सम्पूर्ण कागजात संकलन भइसकेपछि मात्र नेप्सेमा पेश गर्नुपर्ने भनिएको छ । 

यस्तै, नेप्सेले ब्रोकर कार्यालयहरुमा नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना गर्न समेत आग्रह गरेको छ । 

नेप्सेले धितोपत्र कारोबारका लागि लगानीकर्ताहरुलाई अनलाइनको प्रयोगका लागि प्रोत्साहित गर्न समेत ब्रोकरहरुलाई आग्रह गरेको छ । 

नेप्सेको विज्ञप्ति यस्तो छः