काठमाण्डौ । नयाँ अंग्रेजी वर्षको पहिलो कारोबार दिन आज आइतबार बजारमा उछाल आउँदा परिसूचकले नयाँ इतिहास रचेको छ। 

यो दिन नेप्से परिसूचक २१०० विन्दुको प्रतिरोध पार गर्दै ऐतिहासिक उचाइमा पुग्न सफल भएको हो। आज एकैदिन परिसूचक ८८.१२ अंकले बढेर २१७५.३९ को उचाइमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १७.१८ अंकले बढेर ४१५.८८ को विन्दुमा उक्लिएको छ।

आज कारोबार रकम पनि बढेर सवा ६ अर्ब बढीको भएको छ। 

आज सुरुआती अवस्थाबाटै बजार निकै आक्रामक ढंगले बढेको थियो। महँगा र बैंकिङ समूहका सेयरमा खरिदचाप बढ्दा परिसूचक उचालिन मद्दत पुगेको विश्लेषकहरु बताउँछन्। यद्यपि कारोबार रकमले अझै पनि बलियो टेवा दिन नसकिरहेको उनीहरुको ठहर छ । यदि कारोबार रकम पनि सोहीअनुसार बढ्दै जाने हो भने परिसूचकले चाँडै नै २५०० विन्दु माथिको उचाइ चुम्ने उनीहरु दाबी गर्छन् । 

विश्लेषकहरुले बैंकिङ समूह चल्न थालेका कारण पनि बजारको आगामी दिन सुखद रहेको दाबी गरिरहेका छन्। 

सूचीकृतमध्ये अधिकांश कम्पनीहरुले धमाधम एजीएमका लागि बुक क्लोज मिति तय गरी मूल्य समायोजन हुने भएकाले समेत कारोबार रकम प्रभावित भएको विश्लेषकहरुको ठहर छ। गत पुस ५ गते संसद् विघटन भएपछि संसद् पुनःस्थापना वा मध्यावधि निर्वाचन के हुने भन्ने अन्यौलका कारणसमेत लगानीकर्तामा द्विविधा थपिएकोले आक्रमक रुपमा सेयर खरिद नभएकाले सूचक र कारोबार रकममा उल्लेख्य बढोत्तरी हुन नसकेको विश्लेषण गर्नेहरु पनि छन्।

समग्रमा फेरि बुलिस गतिमा कुद्ने संकेत गरेको बजारका १२ वटै उपसमूहमा आइतबार हरियाली छाएको छ। 

जीवन बीमा समूह सर्वाधिक ५५०.९५ अंकले उकालो लागेको यो दिन निर्जीवन बीमा समूह २६८.४२ अंकले बढेको छ। 

आज बैंकिङ समूहमा ७०.९२ अंक, व्यापार समूहमा २२१.५७ अंक, होटेल्स् समूहमा ३४.८४ अंक, विकास बैंक समूहमा ४६.१ अंक, जलविद्युत् समूहमा ३८.९३ अंक, वित्त समूहमा ७.६६ अंक, उत्पादन तथा प्रशोधन समूहमा २६४.४४ अंक, अन्य समूहमा १०३.४४ अंक, लघुवित्त समूहमा ७७.६ अंक र म्युचुअल फन्ड समूहमा ०.०२ अंकको बढोत्तरी भएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २१२ कम्पनीका १ करोड ४० लाख २६ हजार ८८६ कित्ता सेयर ६ अर्ब ३४ करोड ४० लाख १७ हजार ८८९ रुपैयाँमा कारोबार भएको छ। 

आज नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ५० करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

प्राइम कमर्सियल बैंकको ५० करोड २६ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन नेपाल टेलिकमको ४५ करोड ७ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ५२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २७ करोड ३७ लाख रुपैयाँ, एभरेस्ट बैंकको १९ करोड १७ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको १९ करोड १ लाख रुपैयाँ, प्रभु बैंकको १८ करोड ८६ लाख रुपैयाँ, नबिल बैंकको १६ करोड ८१ लाख रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्सको १५ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज पाँचवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन हिमालयन डिस्टिलरी र साल्ट ट्रेडिङको सेयरमूल्यमा १० प्रतिशत तथा नेपाल पुनर्बीमा कम्पनी, प्राइम कमर्सियल बैंक र प्राइम कमर्सियल बैंकको संस्थापक सेयरको मूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। 

यो दिन कुमारी बैंक, गुराँस लघुवित्त र नेसनल माइक्रोफाइनान्सको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ।

यो दिन राधी विद्युत् कम्पनीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ४ प्रतिशत बढीको गिरावट आएको छ।