काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार नेप्से परिसूचकले हालसम्मकै उच्च विन्दु चुमेको छ। 

आज परिसूचक ९.९४ अंकले बढेर २६११.४५ को उचाइमा पुगेको हो। यो राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.४७ अंकले बढेर ४७५ को विन्दुमा उक्लिएको छ। 

आज कारोबार रकम भने हिजोको तुलनामा घटेर ८ अर्ब ३ करोड रुपैयाँको हाराहारीमा सीमित बनेको छ। 

अर्थशास्त्री डा मीनबहादुर क्षेत्रीले अहिलेको बजार बढ्नुमा बैंक ब्याजदर कम हुनु र अनलाइन प्रणालीको विकासले टेवा पुर्यारहेको छ। ‘लगानीकर्ताहरुले सहज रुपमा अहिले घरमै बसीबसी सेयर कारोबार गर्ने प्रणाली विकास भएको छ’, उनले भने, ‘अहिले बैंकमा पैसा राख्नुभन्दा सेयर बजारबाट रिटर्न उच्च रहेकोले सबैको ध्यान यतै केन्द्रित छ।’

अन्य क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल हुने अवस्था अहिले नरहेकोले पनि आमसर्वसाधारणदेखि ठूलठूला व्यापारीहरुले सेयर बजारमै पैसा लगाइरहेको डा क्षेत्रीको भनाइ छ। ‘बजारमा जति ठूलो भोलुममा कारोबार हुन्छ, त्यति बजार बढ्दै जाने हो’, उनले भने, ‘अहिले बजार उचाइतिर लम्किरहेको छ, यस्तो बेला लगानीकर्ताहरुले सोचविचार गरेर राम्रा र बलिया कम्पनीहरुमा लगानी गर्दा उचित हुन्छ।’

डा क्षेत्रीले सेयर बजारबाट लगानीकर्ता र ब्रोकरहरुलाई फाइदा हुने भए पनि राज्यलाई कमै हुने बताए। ‘किनकि राज्यले उत्पादन तथा कृषि लगानीकर्तालाई आकर्षण गर्न सके देशमा रोजगार सिर्जना हुन्छ र राज्य प्राप्त गर्ने कर पनि बढ्छ।’  

आज नेप्सेमा उपसमूहमा रहेका १२ समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ।

यो दिन व्यापार समूह सबैभन्दा बढी ५९.०६ अंकले उकालो लागेको छ। बैंकिङ समूह २९.७७ अंकले उकालो लागेको आज विकास बैंक समूहमा ३.५६ अंक, अन्य समूहमा १०.४३ अंक र म्युचुअल फन्ड समूहमा ०.०७ अंकको बढोत्तरी भएको छ। 

आज जीवन बीमा समूह सर्वाधिक १४४.८३ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह १३६.५९ अंकले घटेको यो दिन होटेल्स् समूहमा १५.४५ अंक, जलविद्युत् समूहमा १४.४४ अंक, वित्त समूहमा १.१२ अंक, उत्पादन तथा प्रशोधन समूहमा ८६.४१ अंक र लघुवित्त समूहमा ४५.६४ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २०३ कम्पनीका १ करोड ७६ लाख ८८ हजार २७१ कित्ता सेयर ८ अर्ब ३ करोड ५५ लाख १० हजार ८४४ रुपैयाँमा कारोबार भएका छन्।

यो दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सबैभन्दा धेरै ६९ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ४१ करोड १६ लाख रुपैयाँबराबरको कारोबार भएको आज ग्लोबल आईएमई बैंकको ३६ करोड ९ लाख रुपैयाँ, नेपाल बैंकको ३५ करोड ७३ लाख रुपैयाँ, नेको इन्सुरेन्सको २६ करोड ३५ लाख रुपैयाँ, प्रभु बैंकको २५ करोड ४५ लाख रुपैयाँ, सिद्धार्थ बैंकको २१ करोड ९३ लाख रुपैयाँ, कुमारी बैंकका २० करोड ४७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १८ करोड १९ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ३६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। निफ्रा, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालय ऊर्जा विकास र समृद्धि फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।

यो दिन सनराइज फस्ट म्युचुअल फन्डका इकाइधनीहरुले धेरै गुमाए। यो म्युचुअल फन्डको इकाइमूल्यमा ५ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।