काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार बजारमा उछाल आएसँगै नेप्से परिसूचकले अलटाइम हाई रेकर्ड ब्रेक गरेको छ।
आज ५४.२६ अंकको बढोत्तरीसँगै नेप्से परिसूचक यसअघिको अलटाइम हाई रेकर्ड ब्रेक गर्दै २७३८.३५ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो। यसअघि परिसूचक गत अप्रिल १५ मा २७३५.४० को विन्दुसम्म उक्लिएको थियो।
आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.६४ अंकले बढेर ४८८.१४ को उचाइमा पुगेको छ। कारोबार रकम साढे १० अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
बजार जानकार मेघनाथ निरौला राजनीतिक द्विविधा केही हदसम्म मेटिएकै कारण बजारले सकारात्मक गति लिएको बताउँछन्। ‘लगानीकर्तामा राजनीतिक अन्यौलता थियो, जुन लगभग मेटिएको छ’, उनले भने, ‘अब बजार सानातिना करेक्सन व्यहोर्दै माथि नै जान्छ।’
बजार बढ्नुमा अहिले अन्य क्षेत्रमा लगानीको वातावरण नहुनु पनि मुख्य कारण रहेको निरौलाको भनाइ छ। ‘कोरोना महामारीका कारण अन्य क्षेत्र ठप्पजस्तै छन्, यस्तो बेला लगानीको एउटामात्र क्षेत्र सेयर बजार नै बनेको छ’, उनले भने, ‘त्यसैले अब बजारमा छिटै २० अर्ब रुपैयाँसम्मको सेयर कारोबार हुने दिन आउनेछ।’
अहिले डिजेल र पेट्रोलको खपत पनि कम भएकोले पैसा नबाहिरिएको उल्लेख गर्दै निरौलाले भने, ‘विद्यार्थी र विदेश घुम्न जाँदा नेपालीले खर्च गर्ने अर्बौं रुपैयाँ बाहिरिन पाएको छैन। जसका कारण सेयर बजारमै पैसा ओइरिएको छ।’
सक्रिय लगानीकर्ता रोहन कार्की आजको बढाइले अब बजार सकारात्मक ढंगले अगाडि बढ्ने निश्चित भएको बताउँछन्। ‘अब इन्ट्रा डे करेक्सनका साथ बजार माथि नै जान्छ’, उनले भने, ‘अब बजार तल झर्ने सम्भावना कमै छ।’
लगानीकर्तामा रहेको राजनीतिक द्विविधा मेटिएकै कारण बजारले सकारात्मक दिशा तय गरेको कार्कीको भनाइ छ। ‘अब यो वा त्यो बहानामा बजार घट्ने सम्भावना छैन’, उनले भने।
प्राविधिक र आधारभूत हिसाबले पनि बजार सकारात्मक नै रहेको कार्की बताउँछन्। ‘अब ३–४ महिना कम्पनीहरुका लाभांश पनि सार्वजनिक हुन्छ’, उनले भने, ‘यसले बजारलाई थप उचाइमा पुर्याउनेछ।’
यो साताभरि बजारले सकारात्मक हुने कार्कीको अनुमान छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ५७९.७७ अंकले उकालो लागेको छ। जीवन बीमा समूह ५२९.७२ अंकले बढेको आज बैंकिङ समूहमा २७.४८ अंक, विकास बैंक समूहमा १११.३० अंक, वित्त समूहमा १५.९० अंक, होटेल तथा पर्यटन समूहमा ३५.९२ अंक, जलविद्युत समूहमा ३०.०७ अंक, लगानी समूहमा २.०८ अंक, उत्पादन तथा प्रशोधन समूहमा ६३.३४ अंक, लघुवित्त समूहमा १०१.७० अंक, म्युचुअल फन्ड समूहमा ०.०४ अंक, अन्य समूहमा ४५.९३ अंक र व्यापार समूहमा ५०.८८ अंकको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृमध्ये २१४ कम्पनीका २ करोड १३ लाख २६ हजार ८८२ कित्ता सेयर १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ८५ करोड २० लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनसीसी बैंकको ३१ करोड ५७ लाख रुपैयाँबराबरको कारोबार भएको आज निफ्राको २९ करोड ४९ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको २५ करोड ७१ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २३ करोड ७५ लाख रुपैयाँ, आईएमई जनरल इन्स्योरेन्सको २३ करोड २४ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको २२ करोड ५८ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको २१ करोड ५० लाख रुपैयाँ, नबिल बैंकको २१ करोड २५ लाख रुपैयाँ र अरुण काबेली पावरको १८ करोड १८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ७ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन रुरु जलविद्युतको सेयरमूल्यमा १० प्रतिशत तथा शिखर इन्स्योरेन्स, समता घरेलु घलुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर र आईएमई जनरल इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। आज विशाल बजार कम्पनीको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन युनियन हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशत बढीको गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19