काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले अनलाइन कारोबार प्रणालीमा गम्भीर समस्या देखिएपछि करिब अढाई घण्टा अवरुद्ध भएको कारोबारको अवधि नथप्ने भएको छ ।
नेप्सेका कामु प्रबन्धक निराजन फूयाँलले आइतबार करिब अढाई घण्टासम्म रहेको समस्या समाधान भइसके पनि कारोबार अवधि नथप्ने निर्णय भएको प्रष्ट पारे ।
'नेप्सेको सिस्टममा देखिएको समस्या समाधान भइसकेको छ ।' उनले भने-'तर, लगानीकर्ताहरुको अपेक्षा अनुसार भने कारोबार अवधि नथपिने भयो । कारोबार थप्दा ५ बजेभन्दा ढिलो हुने भएपछि हामीले यस्तो निर्णय गरेका हौ ।'
आइतबार दिउँसो १२ः४१ बजेदेखि नेप्सेको अनलाइन कारोबार प्रणालीले काम गर्न छाडेको थियो । डेटा मिसम्याच र कनेक्सनको समस्या भई अवरुद्ध अनलाइन प्रणालीका कारण सयौं लगानीकर्ता कारोबार गर्नबाट बञ्चित भएका छन् ।
लगानीकर्ताहरु नेप्सेको वेबसाइट रिफ्रेस गर्दै दिउँसोदेखि नै पर्खिएर बसे पनि अब आज कारोबार नहुने भएको छ ।
अन्तराष्ट्रिय स्तरको हवाला दिइने गरिएको नेप्से इन्डेक्स बढिरहेको र कारोबारमा तेजी आउँदा सिस्टममा गडबडी देखिनुलाई चलखेल र नेप्सेको बदनियतपूर्ण अभ्यासको रुपमा हेरिएको छ । बजार बढ्ने क्रम सुरु भएसँगै प्राय नेप्सेको सिस्टम बिग्रिने विषयलाई गम्भीरताका साथ हेरी छानबिन हुनुपर्ने लगानीकर्ताहरुको माग छ ।
नेप्सेले गत कात्तिक २० गतेदेखि तामझामका साथ अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा ल्याएको थियो । त्यसपछि दैनिकजसो यो प्रणालीमा नयाँ नयाँ खालका समस्या आइरहेका छन् । लामो समयदेखि समस्याले जेलिँदै आए पनि यसको दीर्घकालीन हल खोज्ने र अनलाइन कारोबार प्रणालीलाई भरपर्दो बनाउने बिषयमा नेप्से व्यवस्थापनले काम गर्न सकेको छैन ।
लगानीकर्ताहरुले नेप्से अनलाइन कारोबार प्रणाली असुरक्षित र अभरिलो भएकै कारण यसमा आबद्ध भएर कारोबार गर्न चाहिरहेका छैनन् । यहीकारण पासवर्ड लिएर आफैं अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या नगण्य छ ।
नेप्सेले अनलाइन कारोबार प्रणालीलाई विश्वस्त र बलियो बनाउन नसकेकै कारण लगानीकर्ताको मनोबल गिर्दो छ ।
कतिपयले त १९ करोड बढीको लगानीमा ल्याइएको भनिएको अनलाइन कारोबार सिस्टम नै कमजोर रहेको भन्दै यसमा छानबिन हुनुपर्ने माग उठाइरहेका छन् ।
एक ब्रोकरले नेप्से परिसूचक बढ्दै जाँदा अहिलेसम्म करिब ४ पटकसम्म नेप्सेको अनलाइन प्रणालीमा यस्तै समस्या देखिएको दाबी गर्दै यस विषयमा छानबिन हुनुपर्ने माग गरेका छन् । ’यसमा नेप्से र भेण्डर कम्पनीको फट्याई छ ।’ ती ब्रोकरले नाम उल्लेख नगर्ने शर्तमा भने(’हामीले हेर्दा जब कारोबार रकम बढ्न थाल्छ र बजारमा खरीद चाप देखिन्छ, त्यस्तो चापलाई अहिलेको सिस्टमले धान्नै सक्दैन । बारम्बार आएको समस्याबाट यही कुरा पुष्टि हुन्छ ।’
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago