काठमाण्डौ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकले सुखद ओपनिङ गरेको छ । यो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको हो।
साताको पहिलो दिन आज आइतबार नेप्से परिसूचक ११.३० अंकले बढेर १३९२.६८ को उचाईमा पुगेको हो ।
नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये केही कम्पनीको चौथो त्रैमासको वित्तीय प्रतिवेदन सोचेभन्दा राम्रै आएका कारणले आगामी दिनमा अन्य कम्पनीको समेत राम्रै प्रतिवेदन आउने आशामा लगानीकर्ताको मनोबल बढेको विश्लेषकहरुको दाबी छ ।
कारोबार खुलेको आधाघण्टा बजारमा निकै बिक्रीचाप आएको थियो, तर त्यसपछि भने क्रमशः बजार सुधार हुँदै दोहोरो अंकको बढोत्तरीसँगै बन्द भएको हो ।
आज ब्रोकर नम्बर ४४ डाइनामिक मनि मेनेजर्स सेक्युरिटीजलाई कारोबार निलम्बन गरेकाले समेत कारोबार रकम १ अर्बमुनि खुम्चिएको हो । एउटा ब्रोकरले कारोबार गर्न नपाउँदा कारोबार रकममा सामान्य संकुचन आएको बताइएको छ ।
पछिल्लो समयमा सेयर बजारका लागि सबै परिस्थिति सकारात्मक बन्दै गएका छन् । बैंक ब्याजदर घटेर एकल विन्दूमा झरेको छ भने यो उत्साहमा उर्जा थप्ने काम कम्पनीहरुको अनपेक्षित चौथो त्रैमासिक रिपोर्टले गरिरहेको छ ।
वर्षभरि लगानी गरेको प्रतिफल आउने मौकासमेत यही समय रहेकाले बजारमा उच्च खरिदचाप भई नेप्सेको तीव्र सुधार हुने लगानीकर्ताको अपेक्षालाई आइतबारको बजारले सपोर्ट गरेको देखिन्छ ।
नेप्से परिसूचक १३८० आसपासको विन्दूमा संघर्षपूर्ण ढंगले केही समय घुमिरहे पनि त्यसभन्दा माथि उक्लिएपछि बजारमा बढोत्तरीको यात्रा सुरु हुने प्राविधिक विश्लेषकहरुले बताउँदै आएका छन् । उनीहरुको दाबीलाई आधार मान्ने हो भने आइतबारदेखि सुरु भएको बजारको बढोत्तरीको क्रम केही दिनसम्म निरन्तर हुनसक्ने आँकलन गर्न सकिन्छ ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये एउटामा बाहेक अरु सबैमा हरियाली छाएको छ । होटेल्स् समूहमा २७.४७ अंकको गिरावट आयो ।
यसैगरी आज जीवन बीमा समूहमा १२९.५६ अंक र निर्जीवन बीमा समूहमा १०३.४८ अंकको बढोत्तरी भएको छ । यस्तै बैंकिङ समूहमा ७.९२ अंक, व्यापार समूहमा ११.८८ अंक, विकास बैंक समूहमा ७.७६ अंक, जलविद्युत् समूहमा ३.०५ अंक, वित्त समूहमा ७.११ अंक, उत्पादन तथा प्रशोधन समूहमा १५.२७ अंक, अन्य समूहमा ९.५६ अंक, लघुवित्त समूहमा १४.५८ अंक र म्युचुअल फन्ड समूहमा ०.२१ अंकको बढोत्तरी भएको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १८७ कम्पनीका ३२ लाख १२ हजार ३७९ कित्ता सेयर ९७ करोड ७८ लाख ९५ हजार ५२४ रुपैयाँमा कारोबार भएको छ ।
यो दिन अजोड इन्स्योरेन्सले सर्वाधिक ९ करोड २१ लाख रुपैयाँबराबरको कारोबार गर्यो ।
यसैगरी नेपाल पुनर्बीमा कम्पनीले ८ करोड ९१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सले ७ करोड २३ लाख रुपैयाँ, नबिल बैंकले ४ करोड ७२ लाख रुपैयाँ, एनआईसी एसिया लघुवित्तले ३ करोड २३ लाख रुपैयाँ, एनएमबी बैंकले ३ करोड २० लाख रुपैयाँ, नबिल बैंकले २ करोड ९७ लाख रुपैयाँ, ग्रामीण लघुवित्तको संस्थापक सेयरले २ करोड ९० लाख रुपैयाँ, एनआईसी एसिया बैंकले २ करोड ६८ लाख रुपैयाँ र शिखर इन्स्योरेन्सले २ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार गरेका थिए।
धेरै कमाउने र धेरै गुमाउनेहरु
आज दुई कम्पनीका सेयरधनीहरुले उच्च कमाए । अजोड इन्स्योरेन्स र साधना लघुवित्तका सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो ।
यो दिन गणपति माइक्रोफाइनान्स र आरम्भ चौतारी लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए । यी दुवै कम्पनीका सेयरमूल्यमा ४ प्रतिशतको हाराहारीमा गिरावट आयो।
*(नोट: यो समाचार नेप्सेको नयाँ वेबसाइटमा डिस्प्ले भएको तथ्याङ्कमा आधारित छ । नेप्सेको वेबसाइटमा आइरहने गडबडीका कारण कुनै तथ्याङ्क फरक पर्न गएको भए त्यसको जिम्मेवार सम्बन्धित निकाय नै हुनेछ ।)
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19