काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि बजार दोहोरो अंकले ओरालो लागेको छ।

आज बजार १६.९६ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २८४३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.१७ अंकले घटेर ५२५.६५ को विन्दुमा ओर्लेको छ। आज कारोबार रकम ह्वात्तै घटेर ७ अर्ब रुपैयाँको भएको छ। 

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाट हिजोआज बजार घट्नुमा विभिन्न कारण रहेको बताउँछन्। असारमा ब्याज तिर्नुपर्ने भएकोले, बैंक तथा वित्तीय संस्थाहरुसँगै आमलगानीकर्ताले नाफा बुक गर्दा र म्युचुअल फन्डहरुले पनि सेयर बेच्दा बिक्रीचाप बढेर बजार ओरालो लागेको रानाभाटको तर्क छ। ‘साना र नयाँ लगानीकर्ताहरु लगातार बजार घट्दा आत्तिएकोजस्तो पनि देखिएको छ’, उनले भने, ‘तर बजार तलमाथि गर्छन्, यो बजारको सामान्य नियम नै हो, बजार फेरि लयमा फर्किनेमा दुईमत छैन। आत्तिनुपर्ने अवस्था नै छैन।’

घट्दो बजारमा कारोबार पनि घट्नुलाई सकारात्मक रुपमा लिनुपर्ने रानाभाट बताउँछन्। ‘यसले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको दर्शाउँछ’, उनले भने। 

आगामी साताबाट बजार पुनः लयमा फर्किने सम्भावना रहेको रानाभाटको भनाइ छ। ‘तरलता सहज बन्दैछ, ब्याजदर बढेको छैन, राजनीतिक अन्यौलता पनि घट्दै गएको छ’, उनले भने, ‘त्यसैले चौतर्फी महौल सकारात्मक बन्दै गएको छ, बजार अवश्य लयमा फर्किन्छ।’

सेयर लगानीकर्ता दबाब समूहमा महासचिव नयन बास्तोला बजार ह्वात्तै बढेका कारण यो साता लगातार करेक्सन आएको बताउँछन्। ‘आज पनि करेक्सन नै हो, यसले बजार मजबुत हुन्छ’, उनले भने, ‘आत्तिनुपर्ने अवस्था नै छैन, बैंकिङ सेक्टर बढ्न बाँकी नै छ, त्यसैले बैंकिङ सेक्टरमा उछाल नआई बुलिस ट्रेन्ड सकिँदैन।’

बजारमा अझै केही दिन करेक्सन आउन सक्ने आँकलन गर्दै बास्तोलाले ठूलो लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा बसेकोले उनीहरु प्रवेश गर्नेबित्तिकै बजार पुनः फर्किने बताए। अहिले लगानीकर्ताहरु सर्वोच्च अदालतको निर्णय र मौद्रिक नीतिको प्रतिक्षामा रहेको बास्तोलाको भनाइ छ। ‘सबैतिरबाट सकारात्मक नै समाचार आउने भएकोले बजार फेरि लयमा फर्किने पक्का छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटामा रातो पोतिएको छ भने २ वटामा मात्रै हरियाली छाएको छ। 

यो दिन जलविद्युत समूह १.९७ प्रतिशतले उकालो लाग्दा होटेल तथा पर्यटन समूह १.१६ प्रतिशतले बढेको छ। 

आज विकास बैंक समूह सर्वाधिक १.६४ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह १.३८ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.४० प्रतिशत, वित्त समूहमा १.२९ प्रतिशत, लगानी समूहमा १.४९ प्रतिशत, जीवन बीमा समूहमा ०.८२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५७ प्रतिशत, लघुवित्त समूहमा ०.९७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२१ प्रतिशत, निर्जीवन बीमा समूहमा १.२१ प्रतिशत र व्यापार समूहमा ०.७० प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१९ कम्पनीका १ करोड ३२ लाख १० हजार ३६९ कित्ता सेयर ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७३९.५० रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ३७ करोड ८३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल इन्स्योरेन्सको ३५ करोड २३ लाख रुपैयाँबराबरको कारोबार भएको आज माथिल्लो तामाकोशीको २८ करोड ९२ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको २२ करोड ८० लाख रुपैयाँ, एचआईडीसीएलको १९ करोड ८५ लाख रुपैयाँ, राधी विद्युतको १५ करोड ४६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको १३ करोड २९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १२ करोड ९७ लाख रुपैयाँ, निफ्राको १२ करोड ८८ लाख रुपैयाँ र मञ्जुश्री फाइनान्सको १२ करोड ५१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज माथिल्लो तामाकोशीका सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट नै लागेको छ।

यो दिन ङादी ग्रुप पावरका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।