काठमाण्डौ । सेयर बजारमा बुधबार पनि दोहोरो अंकले उकालो लागेको छ।
आज बजार ६८.४७ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २६८१.१० को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १२.७२ अंकले बढेर ५०४.७३ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर साढे ४ अर्ब रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका तुलसीराम ढकाल आजको बढाइले बजार लयमा फर्किएको देखिने बताउँछन्। ‘किनकि करेक्सन लगभग पूरा भएको छ’, उनले भने, ‘आज कारोबारसँगै इन्डेक्स पनि बढेको छ। यसले बजार अब सकारात्मक ढंगले अगाडि बढ्ने देखिन्छ।’
प्यानिक सेल सकिएर चाडपर्वका लागि रकम जोहो गर्नेहरुले पनि गरिसकेको अवस्था रहेको पनि ढकालले बताए। ‘चाडपर्वका बेला बैंकहरुको नयाँ नोट साट्दा वा अन्य प्रयोजनका कारण पैसा बाहिरिने गर्छ, पछि त्यो पैसा पुनः बैंकमै आउने हो’, उनले भने, ‘त्यसैले दसैँपछि तरलता सहज हुने देखिन्छ।’
अहिलेसम्म कम्पनीहरुबाट आकर्षक लाभांश घोषणा भइरहेकोले पनि बजार बढ्नलाई टेवा पुग्ने ढकालको विश्वास छ। ‘त्यसैले बजार बढ्छ, धैर्य गर्नुहोस् र निर्धक्क भएर खुसियालीका साथ दसैँ मनाउनुहोस्’, उनले लगानीकर्ताहरुसँग आग्रह गरे।
पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला बजारले अब सकारात्मक बाटो लिने बताउँछन्। ‘अस्तिको २५३७ नै हालका लागि अन्तिम न्यून विन्दु हो भन्ने देखियो’, उनले भने, ‘आजको बढाइले बजारमा लगभग करेक्सन सकिएको र अब बजार अगाडि नै बढ्ने देखिन्छ।’
सेयर बजारको अवस्थाप्रति एफएनसीसीआईले पहिलोपटक विज्ञप्ति निकाल्नुले पनि बजारमा गम्भीर अर्थ राख्ने बास्तोलाको भनाइ छ। ‘त्यसैले अब बजार सकारात्मक हुने देखिन्छ’, उनले भने।
आज कारोबार बढ्नुमा ठूला लगानीकर्ताको स्मार्ट मनी भित्रिएको देखिने पनि बास्तोलाले बताए। ‘अब बजारमा ठूलो करेक्सनको सम्भावना देखिँदैन’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन वित्त समूह सर्वाधिक ६.५९ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह ५.८ प्रतिशतले बढेको आज बैंकिङ समूहमा १.२५ प्रतिशत, व्यापार समूहमा २.११ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.९३ प्रतिशत, विकास बैंक समूहमा ४.८२ प्रशित, जलविद्युत समूहमा ३.४३ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.५१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ३.८९ प्रतिशत, अन्य समूहमा १.८७ प्रतिशत, जीवन बीमा समूहमा १.७६ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.५६ प्रतिशत र लगानी समूहमा २.६२ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका ८१ लाख ८९ हजार ८९० कित्ता सेयर ४ अर्ब ५० करोड ६ लाख ५८ हजार १४२ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन सिटिजन्स बैंकको सर्वाधिक २३ करोड ४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया लघुवित्तको १६ करोड ८५ लाख रुपैयाँबराबरको कारोबार भएको आज निर्धन उत्थान लघुवित्तको १६ करोड ७८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १४ करोड ७५ लाख रुपैयाँ, छिमेक लघुवित्तको ११ करोड १८ लाख रुपैयाँ, नेपाल बैंकको १० करोड ६३ लाख रुपैयाँ, नेसनल हाइड्रोको ९ करोड ६८ लाख रुपैयाँ, नबिल बैंकको ८ करोड २६ लाख रुपैयाँ, अपी पावरको ७ करोड ८८ लाख रुपैयाँ र जीवन विकास लघुवित्तको ७ करोड ४५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज १६ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। सबैको लघुवित्त, ग्रामीण विकास लघुवित्त, किसान लघुवित्त, प्रोग्रेसिभ फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त, बेस्ट फाइनान्स, ग्लोबल आईएमई लघुवित्त र नयाँ सारथी लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको छ।
यसैगरी मिथिल लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, मैलुंग खोला जलविद्युत, उन्नति सहकार्य लघुवित्त, महालक्ष्मी विकास बैंक र मिर्मिरे लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।
यो दिन इन्फिनिटी लघुवित्त, सीईडीबी हाइड्रोपावर र समता लघुवित्तको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
आज रिडी हाइड्रोपावरका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरमूल्यमा २ प्रतिशत बढीको गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19