-कृष्ण पाण्डे
चीनको बुहान सहरदेखि फैलिएको कोरोना भाईरसले बिश्वव्यापी रुपमा सामाजिक, मानवीय, प्राकृतिक तथा आर्थिक क्षेत्रमा भइरहेको गतिलाई केही हदसम्म सन्तुलित बनाउने देखिन्छ। काम गर्ने पुरानो शैलीमा परिबर्तन भई विश्वव्यापी नै डिजिटल युगको सुरुवात हुने देखिन्छ। विश्वव्यापी नै स्वास्थ्य क्षेत्रमा सरकारी तथा निजी क्षेत्रले ठूलो लगानी गर्ने छन् भने धेरैजसो व्यापार व्यबसायहरु अनलाइन प्लेटफर्ममा आधारित हुनेछन्। परम्परागत व्यापार व्यबसायहरुको कार्यशैलीमा परिवर्तन देखिनेछ भने, कयौं नयाँ स्टार्टअपको सुरुवात हुनेछ।
कोरोनाको कहरले आर्थिक क्षेत्रमा धेरै ठूलो असर पारिरहेको देखिन्छ। केही क्षेत्र जस्तैः सेयर बजार, स्वास्थ्य, खाद्यान्न, सूचना प्रबिधि लगायतका व्यापारमा खासै प्रभाव परेन।
कोरोनाको प्रभावद्वारा विश्वव्यापी नै लगानीका सबै बाटाहरु बन्द भए। ९५ प्रतिशतभन्दा बढी कम्पनीहरु बन्द हुने अबस्थामा छन् भने सानादेखि ठूला ब्यापारी तथा खुद्रादेखि ठूला लगानीकर्ता सबै सेयर बजार तथा कमोडिटी बजारमा लगानी गर्न थाले। बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनशील तथा नाफामुखी सम्भाव्य लगानीका क्षेत्रहरु पाउन सकेनन्, जसका कारणले बजारमा कर्जाको माग न्यून देखियो। त्यति मात्र कहाँ हो र, बैंक तथा वित्तीय संस्थाहरुले २० प्रतिशतसम्म ऋणीको किस्ता र ब्याजलाई साँवामा परिणत गर्ने मौका पाए।
विश्वव्यापी नै सेयर बजार तथा सुनचाँदीमा लगानी ह्वात्तै बढ्यो । जसको फलस्वरुप विश्वव्यापी अर्थबजारको आकार बढेर लगभग डबल हुन पुग्यो।
यसैको फलस्वरुप नेपाली सेयर बजारमा सर्वसाधारणदेखि ठूला लगानीकर्ताले वैकल्पिक लगानी तथा क्षणिक प्रतिफलको आशामा आँखा बन्द गरेर लगानी गर्न सुरु गरे।
अर्थशास्त्रको नियमअनुसार नै बजारमा माग बढी र सीमित आपूर्ति भएकै कारण आज हाम्रोमाझ १२०० को नेप्से बढेर २००० क्रस गर्न पुग्यो, जसका लागि बैंक तथा वित्तीय संस्थाहरुले सेयरमा लगानीका लागि आय स्रोतबिना नै न्यून ब्याज तथा ७० प्रतिशतसम्म सेयर किन्न तथा सेयर धितो राखी ऋण लिन सहज बातावरण मिलाइदिए। यत्ति मात्र होइन, ८० प्रतिशतभन्दा बढी साना लगानीकर्ताले आफूसँग भएको बचत तथा छिमेकीसँग सापट, ऋण समेत मागेर अरुको लहलहैमा लागेर लगानी गरेको देखिन्छ। कोही कोहीलाई सेयरको से समेत थाहा छैन, तर चिनेजानेको व्यक्तिले रातारात पैसा छापेको देख्दा घरखेत नै धितो राखेर वा बेचेर समेत सेयरमा खन्याएका परिदृश्यहरु देखिन थालेका छन् ।
सेयर बजारले सधै फाईदा दिन्छ भन्ने पनि हुँदैन, कहिलेकाही घाटा पनि दिनसक्छ। हाम्रो नेपाली सेयर बजारले ठूलो झट्का पनि खेपेको छ। १८०० देखि घटेको बजार ३०० भन्दा पनि तल झरेको विगत त्यति पुरानो भइसकेको छैन । प्रतिकित्ता रु. ३५०० पर्ने कम्पनीका सेयर अहिले पनि ५०० को रेञ्जमै फनफनी घुमिरहेको छ । यो जूवा पनि होइन, तर यसको आफ्नो चाल, प्रकृति र स्वभाव हुन्छ भने विश्वको सबैभन्दा ठूलो उद्योग पुँजीबजार पनि हो। विश्वका धनी मानिसहरु यही बजारबाटै खरबपति बनेका छन् भने कोही अर्बपति रोडपति पनि बनेका छन् ।
सेयर बजार सोचेजस्तो वा सुनेजस्तो सजिलो भने छैन । लगानीमा मुनाफा कमाउनका लागि धेरै कुरामा ध्यान दिनु पर्दछ। लगानीका नियमहरु जस्तै उमेर तथा आम्दानीको आधारमा अनुशासित लगानी, पोर्टफोलियो म्यानेजमेन्ट, मुनाफा तथा घाटाको सीमितता, कम्पनीको बारेमा पर्याप्त अध्ययन, अनुसन्धान जस्ता कुराहरुमा ध्यान दिन सकिएन भने कुनै पनि क्षेत्रमा गरिएको लगानीले मुनाफा दिन सक्दैन।
लहलहैमा लागेर गरिएको लगानीले सधै मुनाफा दिन्छ भन्न सकिदैन। आजभोलि सेयर बजारमा धेरैजना बिज्ञ, बिश्लेषक तथा अर्थशास्त्रीहरुले अलग अलग बिचार, बिश्लेषण तथा भविष्यवाणी गरिरहेका छन् । कसैले नेप्से घटेर १२०० मा झर्छ भनिरहेका छन्, कसैले बढेर चाँडै ३६०० पुग्छ भनिरहेका छन् भने कसै-कसैले त ६००० देखि १० हजारसम्मै पुग्छ भनिरहेका छन् । उनीहरुले किन यस्तो दाबी गरिरहेका छन् ? यसको वैज्ञानिक आधार के छ ? यो कुरामा कसैले ध्यान दिएको छैन। तर यसैको आधारमा सर्बसाधारणले लगानी गरिरहेका छन्। के यो सही हो त ?
अब हेरौं, आगामी दिनमा नेपालमा सेयर बजारको कस्तो चाल हुन सक्ला ?
(लेखक ८ वर्षसम्म एनएसई, बीएसई, एमसीएक्स, डीएसई, आइसीइएक्स तथा एसीईको ब्रोकर भई काम गरेका व्यक्ति हुन् । उनी टेक्निकल एनालिस्ट, पोर्टफोलियो व्यवस्थापक, क्यापिटल तथा सेक्युरिटी मार्केटका लागि भारत सरकारको लाइसेन्सप्राप्त तथा म्युचुअल फण्डका सल्लाहकार समेत छन् । हाल उनी एमबीएतर्फ पिएचडीका स्कलर हुन् भने नेशनल इन्स्टिच्यूट अफ फाइनान्सियल टेक्नोलोजीका एमडी, एक्सप्लोर होल्डिंग प्रालि र एक्सप्लोर हेल्थकेयर प्रालिका चेयरमेन समेत छन् । )
यसअघि:
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19