काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार बजार दोहोरो अंकले उकालो लागेको छ।
आज बजार १७.२० अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २६९१.५५ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु पनि हो। यसअघि नेप्सले गत चैत २४ गते हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। यो दिन नेप्से परिसूचक २६७४.४७ को विन्दुमा पुगेको थियो।
यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.७० अंकले उकालो लागेर ४८०.२९ को उचाइमा पुगेको छ। कारोबार रकम पनि साढे ७ अर्ब रुपैयाँ माथिको भएको छ।
सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोलाले बजारले सकारात्मक गति लिइरहेको बताए। ‘आज बजार नयाँ उचाइ चुमेको छ’, उनले भने, ‘यसले लगानीकर्ताको मनोबल उच्च रहेको र भावी दिनमा बजार थप माथि जाने संकेत गरेको छ।’
बास्तोलाले अब बजार ३००० विन्दुको आसपास पुगेपछि मात्रै ठूलो करेक्सन आउन सक्ने बताउँछन्। ‘विस्तारै–विस्तारै बैंकिङ तथा वित्तीय समूह चल्न थालेका छन्’, उनले भने, ‘अब तेस्रो त्रैमास रिपोर्ट पनि राम्रै आउने सम्भावना छ, त्यसपछि बैंकिङ समूहमा झनै उछाल आउनेछ।’
कोभिड संक्रमण बढ्दै गए यसको क्षणिक प्रभाव पर्ने उल्लेख गर्दै बास्तोलाले भने, ‘तर यसले सेयर बजारमा सकारात्मक प्रभाव नै पर्नेछ किनकि यस्तो बेला बजारमा थप लगानीकर्ता भित्रिनुका साथै लगानी पनि बढ्दै जान्छ।’
अहिले राजनीतिक संकट बजार पचाएजस्तो देखिएको बास्तोलाको भनाइ छ। ‘केही गरी चुनाव भइहालेमा यसले बजार झनै सकारात्मक प्रभाव पार्छ’, उनले भने।
सक्रिय लगानीकर्ता मेघनाथ निरौला बजार अझै बढ्ने बताउँछन्। ‘बजार केही करेक्सन हुँदै अब माथि नै जान्छ’, उनले भने, ‘आगामी दिन केही करेक्सन आउने सम्भावना पनि छ। तर यस्ता करेक्सनले बजारलाई मजबुत पार्दै जान्छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। यो दिन जीवन बीमा समूह सर्वाधिक १९७.७९ अंकले उकालो लागेको छ। लघुवित्त समूह १८८.८६ अंकले बढेको आज बैंकिङ समूहमा १७.८१ अंक, विकास बैंक समूहमा ३९.३६ अंक, उत्पादन तथा प्रशोधन समूहमा १४.०६ अंक र म्युचुअल फन्ड समूहमा ०.०२ अंकको बढोत्तरी भएको छ।
यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ७५.१९ अंकले ओरालो लागेको छ। व्यापार समूह ६९.६२ अंकले घटेको आज जलविद्युत् समूहमा ४२.६७ अंक, वित्त समूहमा १.३६ अंक, अन्य समूहमा २९.७२ अंक र लगानी समूहमा ०.३३ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २१६ कम्पनीका १ करोड ३८ लाख २१ हजार ५७३ कित्ता सेयर ७ अर्ब ६१ करोड ८ लाख २८ हजार ५० रुपैयाँमा कारोबार भएका छन्।
यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक २५ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको २४ करोड ५३ लाख रुपैयाँबराबरको कारोबार भएको आज निफ्राको २२ करोड ११ लाख रुपैयाँ, नेपाल बैंकको २१ करोड ४६ लाख रुपैयाँ, ग्रामीण विकास लघुवित्तको १९ करोड ८१ लाख रुपैयाँ, माथिल्लो तामाकोशीको १८ करोड ९५ लाख रुपैयाँ, छिमेक लघुवित्तको १७ करोड ९२ लाख रुपैयाँ, निर्धन उत्थान लघुवित्तको १७ करोड ३७ लाख रुपैयाँ, चन्द्रागिरी हिल्सको १४ करोड २७ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ६८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ५ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। एनआईसी एसिया लघुवित्त, महिला लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स र सिन्धु विकास बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। आज गुराँस लघुवित्त र एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि ९ प्रतिशतको हारहारीले उकालो लागेका छन्।
यो दिन सान्जेन जलविद्युतका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्य ४ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago