– अर्जुन तिमिल्सिना
काठमाण्डौ । अहिले सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ। धेरै विश्लेषकहरुले बजार घट्नुमा विभिन्न कारण बताइरहेका छन्।
सेयर बजार सधैँ मनोविज्ञानले चल्छ। त्यसैले लगानीकर्ताको मनोविज्ञानले सेयर बजार तलमाथि हुने हो।
अहिले बैंकिङ क्षेत्रमा तरलता अभाव एउटा कारण भए पनि अन्य कारणले पनि बजार घट्नुमा भूमिका खेलेका हुन्छन्। खासगरी पुँजीबजारका दुई मुख्य नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) प्रमुखविहीन रहेकोले पनि लगानीकर्ताले दैनिक निरुत्साहित भइरहेको देखिन्छ। अहिले यी दुवै निकाय निमित्तका भरमा चलेका छन्।
बजार दिनदिनै घट्दा लगानीकर्ता पीडित बन्दै गएका छन्। उता नियामक निकायमा नेतृत्वको नियुक्तिका विषयमा भने सरकार ‘कुहिरोको काग’ जस्तै अलमलमा परेको देखिन्छ।
सेबोनमा अध्यक्ष नियुक्तिका योग्य व्यक्ति छनोट तथा सिफारिसका लागि समिति गठन भयो। तर मन्त्रिपरिषदबाट नभई मन्त्रीस्तरबाट समिति गठन भएको भन्दै विवादमा पर्यो। ‘पुनः अर्को समिति बनेको छ, मन्त्रिपरिषदबाट वैधानिकता दिनमात्र बाँकी छ’, अर्थमन्त्री जनार्दन शर्माका प्रेस सल्लाहकार सचिन रोक्काले भने, ‘मन्त्रिपरिषद्बाट वैधानिकता पाएपछि उक्त सोही समितिले छिटै सेबोन अध्यक्षको नियुक्ति प्रक्रिया थाल्नेछ।’
यसअघि गठित समितिले सेबोन अध्यक्षका दरखास्त आह्वान गरेको थियो। जसमा १२ जना आकांक्षीको दरखास्त परेको छ। सिफारिस समितिले नै वैधानिकता पाउन बाँकी रहेको ती परेका दरखास्तका विषयमा झन अन्यौलता सिर्जना भएको छ।
रोक्काले पुँजीबजारको विकास र विस्तारका लागि अर्थमन्त्री र अर्थ मन्त्रालयका अधिकारीहरुसकारात्मक नै रहेको बताए। ‘नियामक निकायहरुमा नेतृत्व नियुक्तिमा प्रक्रियागत ढिलाइ भएकै होला तर बजार घटाउन सरकार नै लाग्यो भन्ने कुरा भने गलत हो’, उनले भने, ‘सरकारलाई दोष देखाएर पुँजीबजारमा ‘नो भोट’को अभियान चलाउनु अर्को दुःखको कुरा हो।’
रोक्काले पुँजीबजारलाई स्वतन्त्र ढंगले चल्न दिनुपर्ने पक्षमा सरकार रहेको बताए। ‘तर बजारका बारेमा अर्थमन्त्रीले केही नबोल्दा पनि सुख छैन, बोल्दा पनि सुख छैन’, उनले भने।
रोक्काले नेप्सेमा नेतृत्वको नियुक्ति प्रक्रिया भोलि–पर्सिबाटै अगाडि बढ्न सक्ने सम्भावना रहेको बताए। ‘अबको दुई साताभित्र नेप्सेले नयाँ नेतृत्व पाउने सम्भावना छ’, उनले भने।
अहिलेसम्म अर्थमन्त्री र मन्त्रालयले मन्त्रिपरिषद्ले भनेअनुसार यी दुवै निकायमा नेतृत्व नियुक्तिका लागि प्रक्रियाहरु अगाडि बढाइरहेको पनि रोक्काले जानकारी दिए।
उता अर्थ मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्य सेबोनमा अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठन समितिले अहिले के–के भइरहेको छ र के–के गरिरहेको छ भन्ने विषयमा आफूलाई थाहा नभएको बताउँछन्। ‘त्यसबारेमा कुनै जानकारी छैन’, उनले भने, ‘तर, सेबोनमा अध्यक्ष नियुक्तिका विषयमा भने मैले बारम्बार अर्थमन्त्रीज्यूलाई अवगत गराइरहेको छु।’
शाक्यले विश्वनाथ पौडेलको संयोजकत्वमै फेरि सिफारिस समिति गठन भएको बताए। ‘अर्थमन्त्रीले सेबोनमा छिटो नियुक्तिका लागि चासो दिइरहनुभएको छ’, उनले भने, ‘अब समितिले आफ्नो प्रक्रिया पूरा गर्नुपर्यो।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19