– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । लगातार ४ सातादेखि घटिरहेको सेयर बजारमा यो साताको पहिलो कारोबार दिन आइतबार पनि भारी अंकले गिरावट आएको छ। अहिलेको घटाइ चैत मसान्तकै प्रभाव रहेको बजार जानकारहरुको मत छ। 

बजारको पछिल्लो अवस्थाबारे स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालकी उपाध्यक्ष सरिता अधिकारी अहिले बजारमा पोस्ट कोभिडको प्रभाव पनि रहेको बताउँछिन्। ‘कोभिडको समयमा सबै क्षेत्रका मानिस सेयर बजारमा आएका थिए’, बिजशालासँगको कुराकानीमा उनले भनिन्, ‘बैंक तथा इन्स्योरेन्स कम्पनीहरु सबैले सेयरमा लगानी गरे। तर, नियामकको नीतिले एकैपटक च्याप्दा त्यसको प्रभाव सेयर बजारमा पर्यो।’

अहिले लगानीकर्ताहरु पीडामा रहेको अधिकारी बताउँछिन्। ‘कतिपय लगानीकर्ताले त मोबाइल नै स्विच अफ पनि गरेका छन्’, लिन्च सेक्युरिटिज (स्टक ब्रोकर नं. ४१) की सञ्चालकसमेत रहेकी अधिकारीले भनिन्, ‘तर, बजार फर्केसँगै ती लगानीकर्ता पनि बजारमा फर्किनेछन्। अहिले आत्तिने समय होइन। धैर्य गर्दा कुनै दिन फेरि बजारमा रौनक फर्किन्छ नै।’ 

खरिदकर्तालाई सधैँ किन्ने समय हुने गरेको अधिकारीको भनाइ छ। ‘बिक्रीकर्तालाई सधैँ बिक्री गर्न सक्ने ठाउँ पनि हो’, उनले भनिन्, ‘यहाँ किन्ने पनि हुन्छन् र बेच्ने पनि हुन्छन्। यो बजारमा सधैँ अवसर नै अवसर रहेको हुन्छ।’

आफूहरुले ब्रोकर कम्पनी सञ्चालन गर्दा नेप्से सूचक २९२ को विन्दुसम्म आएको अधिकारीले स्मरण गरिन्। ‘त्यो बेला पनि लगानीकर्ता धेरै आत्तिएका थिए, कति त पलायनै भए’, उनले भनिन्, ‘तर, बजारमा धैर्य गर्नेहरुलाई पछि बजारले राम्रै अवसर पनि दियो।’

बजार ‘अप एन्ड डाउन’ भइरहने उल्लेख गर्दै अधिकारीले भनिन्, ‘ढिलो–चाँडो बाजारमा अवसर आउँछ नै । जबसम्म बेचिँदैन तबसम्म घाटा हुँदैन।’

अर्थतन्त्रमा विस्तारै सुधार हुँदै गइरहेको अधिकारी बताउँछिन्। ‘विस्तारै सबै क्षेत्रमा सुधार हुन्छ’, उनले भनिन्, ‘यो अप्ठ्यारो समय सधैँ रहँदैन। फेरि राम्रो समय आउँछ।’