काठमाण्डौ । दोहोरो अंकको वृद्धिसहित  नेप्से परिसूचक १९ सय नजिकको ऐतिहासिक उचाईमा पुगेको छ । बुधबार बित्तीय संस्था र होटलमा लगानीकर्ता थुप्रिएपछि १४.९५ अंकले बढेको नेप्से १८८१.४५ अंकको उचाईमा पुगेको हो । 

कारोबार रकम पनि २ अर्ब माथि पुगेको छ । उच्च नाफासहितका वासलात धमाधम सार्वजनिक गरिरहेका बैंक तथा बित्तीय संस्थाप्रति लगानीकर्ताको आकर्षण बुधबार पनि उस्तै रह्यो । वाणिज्य बैंक समूह १५.५१ अंकले उक्लियो भने विकास बैंक र बित्त समूहमा क्रमशः ३३.१८ र ५.२१ अंकको बढोत्तरी देखियो । 

सबैभन्दा बढी होटल समूहको सूचक १९५.३७ अंकले उक्लियो । जलविद्युत समूहमा पनि ४५.३१ अंकको बढोत्तरी देखियो । 

अन्य समूहको सूचकमा रातो पोतियो । बिमा समूह २३.११ अंकले तल झर्यो भने उत्पादनमूलक र अन्य समूहमा क्रमशः १३.१४ र ७.२२ अंकको गिरावट देखियो । 

बुधबार पूँजीबजारमा १ सय ४८ कम्पनीको ४८ लाख ८५ हजार ५ सय ४० कित्ता सेयर २ अर्ब २६ करोड ६४ लाखमा किनबेच भयो । 

धेरै कारोबार गर्नेहरु
बुधबार सबैभन्दा धेरै नेपाल बैंक लिमीटेडको ११ करोडको सेयर किनबेच भयो । सिद्धार्थ बैंक लिमीटेडले ९ करोड ८० लाख, नेपाल बंगलादेश बैंकले ९ करोड ३९ लाख, प्राइम कमर्सियल बैंकले ८ करोड १५ लाख, सेञ्चुरी कमर्सियल बैंकले ६ करोड ७९ लाखको कारोबार गरे । यसैगरी, एभरेष्ट बैंकको ६ करोड २० लाख, एसबीआई बैंकको ५ करोड ९२ लाख, नेशनल लाइफ इन्स्योरेन्सको ५ करोड ८१ लाख, ग्लोबल आइएमई बैंकको ५ करोड ६१ लाख र माछापुच्छ्र बैंकको ५ करोड ५६ लाख बराबरको सेयर किनबेच भयो । 

धेरै कमाउनेहरु
बुधबार सबैभन्दा धेरै लुम्बिनी  फाइनान्सका लगानीकर्ताले कमाए । यो कम्पनीको सेयरको मूल्यमा १० प्रतिशतले बढोत्तरी भयो । यसैगरी, माउण्ट मकालु डेभलपमेन्ट बैंक, कैलाश विकास बैंक, तारागाउँ रिजेन्सी होटल, सिन्धु विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, गुड्विल फाइनान्स, यूनाइटेड फाइनान्स, सोल्टी होटल लिमीटेड र सेती फाइनान्सका लगानीकर्ताले पनि कमाएका छन् । यी कम्पनीको सेयर मूल्यमा ८ देखि १० प्रतिशतले बढोत्तरी भएको छ । 

धेरै गुमाउनेहरु
बुधबार स्वरोजगार लघुवित्त विकास बैंकको प्रोमोटर सेयरको मूल्यमा करिब १० प्रतिशतले गिरावट आयो । यसैगरी, नेपाल इन्स्योरेन्स कम्पनी, एनआइडीसी क्यापिटल मार्केट्स, राप्तिभेरी विकास बैंक, एक्सल डेभलपमेन्ट बैंक लगायतले गुमाएका छन् ।