काठमाण्डौ । विगत ६ वर्षको अवधिमा पहिलोपटक एकैदिन ५ प्रतिशतले पूँजीबजार घटी सर्किट ब्रेक लागेपछि सिर्जना भएको अन्यौलको अवस्था चिर्न नियामक नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई निकै पापड बेल्नुपर्यो । धितोपत्र बोर्डले बजारमा पहिरो गएको दिन सोमबार दुईपटकसम्म विज्ञप्ति निकाल्यो भने मंगलबार बजार खुल्नुअघि नेपाल स्टक एक्सचेञ्जले समेत बजार घट्नुपर्ने कारण केही नभएको भन्दै कम्पनीहरुको बित्तीय अवस्थाको अध्ययन गरी लगानी गर्न लगानीकर्तालाई प्रोत्साहित गर्यो विज्ञप्तिमार्फत । बजारका लगानीकर्तामा परेको मनोवैज्ञानिक त्रास(भूत) हटाउने सम्बद्ध निकायको प्रयास, विज्ञहरुको सकारात्मक विश्लेषण र मिडियाहरुको समेत भूमिकाका कारण मंगलबार पूँजीबजार सुरुवातदेखि नै उकालोतर्फ दौडिन थालेको छ । 

पौने १२ बजेसम्मको अवस्थामा नेप्से सोमबारको तुलनामा यूटर्न भएको देखिएको छ । नेप्से परिसूचक ८४.५१ अंकले उकालो लागेको छ भने सबै समूहको परिसूचक उकालोतर्फ दौडिरहेका छन् । 

सबैभन्दा बढी बिमा समूहको परिसूचक ५११.३९ अंकले बढिसकेको छ । जलविद्युत र होटल समूहको सूचकमा पनि तेहेरो अंकको बढोत्तरी देखिएको छ । वाणिज्य बैंक ९६.०३ अंकले बढेको छ भने विकास बैंक र बित्त समूहको सूचक पनि दोहोरो अंकले उक्लिएका छन् । अन्य समूह पनि दोहोरो अंकले उकालो चढिरहेको छ । 

पछिल्लो समय प्रत्येक दिन(आइतबारदेखि बिहीबारसम्म) बिहान ११ बजे बजार खुलेर दिउँसो ३ बजे बजार बन्द हुने गरेको छ । करिब बजारको आधा समय बित्दा नेप्सेमा दोहोरो अंकको उच्च बढोत्तरीले सारा भ्रमहरु चिरिएर लगानीकर्तामा उत्साह थपिएको हो कि भन्ने देखिएको छ ।