काठमाण्डौ । सेयर बजार स्थिर जस्तो देखिएको छ । मंगलबार नेप्से परिसूचक १.९३ अंकले घट्यो भने कारोबार रकम(टर्नओभर)मा भने निकै ठूलो गिरावट आयो । 

राजश्व सचिव शिशिर ढुंगानाले सोमबार एक कार्यक्रमबीच ७.५ प्रतिशत पूँजीगत लाभकरलाई नै सेयर बजारमा व्यक्तिको हकमा अन्तिम कर रहेको स्पष्ट पारेको खबरले लगानीकर्तालाई केही आश्वस्त पार्न खोजेको जस्तो देखिएको छ । तथापि, धेरै लगानीकर्ता मौद्रिक नीतिको प्रतिक्षामा बस्दा बजार अपेक्षित गतिमा अगाडि बढ्न सकेन । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.६४ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.१५ अंकको गिरावट आयो । 

मंगलबार बजारका तीन समूहको सूचक बढ्यो भने बाँकी सबै समूहको सूचकमा रातो पोतियो । 

यो दिन बिमा समूहमा १.५९ अंकको सुधार देखियो । यस्तै, बित्त समूहमा २.१५ अंक र उत्पादनमूलकमा ५.१२ अंकको बढोत्तरी भयो । 

बैंकिङ समूह २.९ अंकले घटेको यो दिन होटल समूहमा १४.५९, विकास बैंकमा ०.४७, जलविद्युत समूहमा २.२५ र माइक्रोफाइनान्स समूहमा १.१६ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन कारोबार रकममा भने निकै ठूलो गिरावट आयो । बजारमा १ सय ६० कम्पनीका ९ लाख ४७ हजार ३ सय ९३ कित्ता सेयर २९ करोड ९० लाख ९३ हजार ५ सय ७९ रुपैयाँमा किनबेच भयो ।

सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ३५ लाख बढीको सेयर कारोबार गर्यो । यस्तै, बेस्ट फाइनान्सको १ करोड ५५ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा मेगा बैंकले १ करोड ४५ लाख, नेपाल टेलिकमले १ करोड ३० लाख, साना किसान विकास बैंकले १ करोड २८ लाख बढीको सेयर कारोबार गरे । नेपाल इन्भेष्टमेन्ट बैंकले ९६ लाख, सिटिजन्स बैंकले ९० लाख, सिभिल बैंकले ८३ लाख, ग्लोबल आइएमई बैंकले ७९ लाखको हाराहारीमा कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पनि उन्नति माइक्रोफाइनान्सकै लगानीकर्ता मालामाल भए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । रादी जलविद्युत कम्पनीको सेयर मूल्यमा समेत ७.११ अंकको बढोत्तरी भयो ।

यो दिन काबेली विकास बैंकका सेयरधनीले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ६.१२ प्रतिशतले घट्यो । यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा समेत ६ प्रतिशतकै हाराहारीमा गिरावट आयो ।