काठमाण्डौ । सेयर बजार केही बलियो बन्दै गएको देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ०.८८ अंकको झिनो गिरावट आए पनि कारोबार रकम भने बढेको छ । यसले बजारमा लगानीकर्ताको सक्रियता केही बढ्न थालेको बुझिन्छ । 
 
बजार परिसूचक(इण्डेक्स) र कारोबार(टर्नओभर) एकसाथले बढ्यो भने भविष्यमा बजार केही बलियो हुने रुपमा बुझ्नुपर्छ भने एकसाथ घट्यो भने बजारको भविष्यका लागि नराम्रो संकेत मान्नुपर्छ । यसरी हेर्दा बिहीबारको इण्डेक्स स्थिर देखिएको छ भने कारोबार रकम करिब ७ करोडले बढेको छ । यो क्रम आगामी साता बढ्दै गयो र इण्डेक्समा पनि वृद्धि हुँदै गयो भने नेप्से परिसूचक माथि जाने संभावना रहेको विज्ञहरु बताउँछन् । 
 
परिसूचक स्थिर हुँदा ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा आकर्षण देखिएको छ, जसका कारण सेन्सेटिभ इण्डेक्स ०.१२ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.०२ अंकको बढोत्तरी भएको छ । 
 
यो दिन तीनवटा समूहको सूचकमा बढोत्तरी भएको छ । बाँकी सबै समूहको सूचक घटेका छन् । 
 
बैंकिङ समूह ०.७१ अंकले बढेको छ भने जलविद्युत समूह १.६५ अंक र बित्त समूह ३.३३ अंकले बढेको छ। 
 
यो दिन होटल समूह ७.४८ अंकले घटेको छ । यस्तै, विकास बैंक समूह ३.४३ अंक, माइक्रोफाइनान्स समूह ०.४९ अंक, बिमा समूह १५.६७ अंक, उत्पादनमूलक १६.१२ अंक र अन्य समूह २.८६ अंकले घटेका छन् ।
 
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६४ कम्पनीका ११ लाख ४८ हजार ३ सय ६९ कित्ता सेयर २४ करोड २९ लाख ८६ हजार ७ सय ३८ रुपैयाँमा किनबेच भएको छ । 
 
यो दिन सबैभन्दा बढी सोल्टी होटल लिमीटेडले २ करोड ३५ लाख बढीको कारोबार गरेको छ । यस्तै, मेगा बैंकले १ करोड ४२ लाख, नेपाल टेलिकमले १ करोड ८ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ९७ लाख बढीको कारोबार गरे । नवील बैंकको ८५ लाख संस्थापक सेयर किनबेच भएको बजारमा ओरिएन्टल होटल लिमीटेडले पनि ८५ लाख, स्ट्याण्डर्ड चार्टर्डले ६९ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ६७ लाख, एभरेष्ट बैंकले ६३ लाख र एनआइसी एशिया बैंकले ४९ लाख बढीको कारोबार गरे । 
 
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ६.०३ प्रतिशतले वृद्धि भयो । यस्तै, आइसीएफसी फाइनान्सका लगानीकर्ताले ५.३९ प्रतिशतले सम्पत्ति बढाए । 
 
बिहीबार रिलायन्स फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशतले घट्यो । यस्तै, मिर्मिरे माइक्रोफाइनान्सका लगानीकर्ताले समेत ४ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाए ।