काठमाण्डौ । सोमबारको सेयर बजार स्थिर रहेको छ । यो दिन नेप्से परिसूचकमा ०.४४ अंकको झिनो गिरावट आयो । नेप्से परिसूचक स्थिर भए पनि कारोबार रकम भने बढेर २९ करोड ६१ लाख माथि पुग्यो । 

बजार परिसूचक(इण्डेक्स) स्थिर रही कारोबार रकममा वृद्धि हुनु भविष्यका लागि सुखद संकेत हो । यसले बजारमा किनबेच गर्नेहरु बिस्तारै बढ्न थालेका बुझिन्छ । 

बजारको डाउन ट्रेण्ड चाँडै अन्त भई बुलिस ट्रेण्ड सुरु हुने कतिपय विज्ञहरुले खुलासा गरिसकेपछि लगानीकर्ता केही आशावादी देखिएका छन् ।

तथापि, बजारलाई प्रत्यक्ष असर पुर्याइरहेको ब्याजदर अपेक्षित रुपमा नघटेपछि भनेजस्तो उत्साह भने बजारमा देख्न सकिएको छैन । ब्याजदर बिस्तारै कम हुँदै जाने हो र कर लगायत लगानीकर्ताका लागि हाउगुजी भइरहेका बिषयमा चाँडै स्पष्टता आउने हो भने बजार बढ्न बेर नलाग्ने विश्लेषकहरु बताउँछन् । 

यो दिन बजारका समूहहरुको प्रदर्शन समेत मिश्रित नै देखिएको छ । ४ समूहको सूचकमा हरियो पोतियो भने बाँकी समूहका उपसूचक राताम्मे भए । बैंकिङ समूह ०.७९ अंकले बढ्दा विकास बैंक समूह ०.२२ अंकले बढ्यो । यस्तै, बित्त समूह ४.१८ अंकले बढेको यो दिन उत्पादनमूलक ४.६६ अंकले वृद्धि भयो । 

सोमबार होटल समूहमा ९.९९ अंकको गिरावट आयो भने जलविद्युत समूह १.३७ अंकले, निर्जीवन बिमा समूह १४.७२ अंक, जीवन बिमा समूह २०.५१ अंक, माइक्रोफाइनान्स समूह ०.०५ अंक तथा अन्य समूह २.२५ अंकले घटे । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्समा ०.०७ अंकको बढोत्तरी भयो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स पनि ०.०७ अंकले नै बढ्यो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ७० कम्पनीका १२ लाख ८४ हजार ९ सय ४४ कित्ता सेयर २९ करोड ६१ लाख ५६ हजार २ सय ५२ रुपैयाँमा किनबेच भयो । 

यो दिन सबैभन्दा बढी माछापुच्छे बैंकले ६ करोड ३४ लाख बढीको कारोबार गर्यो । एनसीसी बैंकले ३ करोड १५ लाख बढीको कारोबार गरेको यो दिन जलविद्युत लगानी तथा विकास कम्पनीले १ करोड ४९ लाख र एनएमबी बैंकले १ करोड ५ लाख बढीको कारोबार गरेको छ ।  

यो दिन नेपाल बैंकले ७२ लाख बढीको कारोबार गर्यो भने एनएमबी बैंकको ७० लाख बढीको संस्थापक सेयर समेत किनबेच भयो । नेपाल इन्स्योरेन्स कम्पनीले ६४ लाख, एभरेष्ट बैंकले ६१ लाख, स्ट्याण्डर्ड चार्टर्डले ५७ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमीटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा बढ्यो । यसैगरी, तिनाउ विकास बैंक र जेबिल्स फाइनान्सको मूल्य ५ प्रतिशत भन्दा बढीले वृद्धि भयो । 

यो दिन सिटी एक्सप्रेस फाइनान्स कम्पनीका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ९.५२ प्रतिशतले घट्यो ।