काठमाण्डौ । अघिल्लो साता प्रत्येक कारोबार दिन बजार ओरालो लाग्यो । यो साता आइतबार पहिरो गएको बजारमा सोमबार २६ अंकको यूटर्न भयो । सोमबार बजारमा देखिएको हराभरा एक दिन पनि टिकेन र मंगलबार फेरि बजार राताम्मे देखियो । एकैदिनको फरकमा बजारको यस्तो ट्रेण्ड किन देखिएको होला ? अघिल्लो दिन उछाल देखिएको बजारमा भोलिपल्टै फेरि किन निराशा छायो ? कतै यो प्रवृतिले बजारमा ठूलै दुर्घटना निम्तिने संकेत त गरिरहेको छैन ? अथवा, यो प्रवृतिको अर्थ के हुनसक्ला ? दशैंतिहारअघिसम्म बजार कहाँ पुग्ला ? अझै तल झर्ला कि माथि चढ्ला ? आम लगानीकर्ताका यिनै र यस्तै जिज्ञासाहरु मेट्न हामीले यसपटक दुई सेयर विश्लेषकलाई प्रस्तुत गरेका छौ । 

अञ्जनराज पौडेल र परमेश्वरभक्त मल्लसँग बिजशालाले गरेको कुराकानीमा दुवैले बजार घटिरहेको कारण बारे खुलेरै कुरा गरेका छन् । हेरै दुवैको बजार विश्लेषण उनीहरुकै शब्दमा : 
 

अञ्जनराज पौडेल
.यो फेस्टिभ सिजन हो । यस्तो बेलामा अघिल्लो वर्षहरुमा पनि बजारमा खासै उत्साह देखिन्न थियो, यसपटक पनि त्यही भइरहेको छ । बजारमा लगानीकर्ताहरुको भीड पातलिन थालेको छ । कतिपय लगानीकर्ता काठमाण्डौ बाहिरका  रहेकोले उनीहरुले चाडपर्वको तयारीमा व्यस्त हुँदा बजारतिर ध्यान दिन सकेका छैनन् । यसले पनि बजारमा असर गरिरहेको छ । बुक क्लोज र त्यसपछिको नयाँ मूल्य एडजस्टमेन्टका कारण समेत बजारमा उतारचढाव भइरहेको छ । प्राइस एडजस्टमेन्टपछि बुक क्लोजअघिको मूल्यभन्दा केही घटेर आउने भएकोले समेत लगानीकर्ताहरुलाई बिक्रीका लागि उत्प्रेरित गर्छ, फलस्वरुप बजारमा खरीद माग खासै देखिन्न । 

२.कतिपयले अचम्म मान्छन–‘कम्पनीहरुले धमाधम लाभांश, हकप्रद घोषणा गर्दा पनि बजार किन माथि उठ्न सकेन?’ भनेर । यसको मुख्य कारण अनलाइन मिडियाहरुमा भइरहने प्रचार हो । मिडियाहरुले कुनै पनि कम्पनीको  संभावित घोषणाको कुरा पहिला नै लेखिदिएका हुन्छन् । यस्ता घोषणाको प्रभाव पहिला नै बजारमा परिसकेको हुन्छ । यही कारण औपचारिक घोषणापछि पनि बजारमा खासै चहलपहल देखिन्न । 

३.पछिल्लो समय हेर्ने हो भने सोमबार एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ठूलो मात्रामा लाभांशसँगै हकप्रद पनि आउने हल्लाका कारण बजार एकाएक माथि पुग्यो । ठूला र प्रतिष्ठित कम्पनीले ठूलै रिटर्न दिने आशामा समेत यी कम्पनीको सेयर खरीदमा लगानीकर्ताले मरिहत्ते गरे र जसका कारण बजार माथि उचालियो र कारोबार रकम पनि १ अर्ब माथि पुग्यो । तर, तत्काल यस्तो घोषणा केही नआउने फेरि बजारमा हल्ला भयो र निराश लगानीकर्ता चूप बस्दा मंगलबार बजार ठीक उल्टो, राताम्मे बनिदियो । 

४.मेरो विचारमा अहिले लगानीकर्ताको द्विविधाले समेत बजारलाई घटाउन निकै ठूलो काम गरेको छ । कतिपय लगानीकर्ताहरु हातमा पैसा बोकेर बजार अझै घटोस् भन्ने चाहनासहित बसेका छन् । बजार अझै घट्ला र सस्तोमा सेयर खरीद गरी पछि राम्रो नाफा कमाउँला भनेर सोच्नेहरुका कारण समेत बजारको चहलपहल घटेको देखिन्छ । यहीकारणले हो बजार केही बढ्न थालेको देखे भने लगानीकर्तालाई सेयर किन्ने हतारो छुन्छ । 

५.मेरो विचारमा दशैंतिहारको अवधिसम्म पूँजीबजारमा ठूलै उतारचढाव देखिदैन । सामान्य घटबढ हुनु बजारको प्रवृति नै हो । जे जति कम्पनीको प्रतिफल आउन बाँकी छ, दशैंअघि नै भयो भने त्यसले बजारलाई केही प्रभाव पार्ला । तर लगानीकर्ता ढुक्क भए हुन्छ, दशैंतिहार अगाडि बजारमा ठूलै वृद्धि वा ठूलै गिरावट आउनेछैन । 

६.संस्थागत लगानीकर्ताहरु अहिले होल्ड भएर बसेका छन् । उनीहरुले असारमै आफ्ना सेयर बिक्री गरेर राम्रो प्रोफिट बुक गरिसकेका छन् । बजार अझै घट्ला र घट्दो बजारमा लगानी गरौंला भनेर त्यस्ता समूह बसेका कारण पनि बजारमा प्रभाव परिरहेको छ । 

.......................................................................................................................................

परमेश्वरभक्त मल्ल, सेयर विश्लेषक
१.मेरो विचारमा अहिलेको बजारले मार्केट लिडरको डिसिजन कुरेर बसेको छ । हाम्रो सेयर बजारको मार्केट लिडर स्ट्याण्डर्ड चार्टर्ड र एभरेष्ट बैंक लगायतका संस्था हुन् । इपीएसको हिसाबले एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड दुवै राम्रा कम्पनी हुन् । लगानीकर्ता यी दुई बैंकको संभावित घोषणालाई कुरेर बसेका छन् । यी दुई कम्पनीले बोनस र राइट सेयर ल्याइहाल्ने हल्ला फैलदा यी कम्पनीको सेयरमा अचाक्ली माग बढ्छ भने तत्काल नल्याउने परे भन्ने हल्ला आयो भने फेरि लगानीकर्ता थन्किने प्रवृति देखिएको छ ।  

२.संस्थागत लगानीकर्ता पनि एभरेष्ट र स्ट्याण्डर्डको संभावित घोषणालाई पर्खेर बसेका छन् । एक हिसाबले हेर्दा लगानीकर्र्ता पूरै कन्फ्यूज्ड अवस्थामा छन् । हल्लाको पछाडि दौडिने चलन पनि उस्तै नेपालको पूँजीबजारमा । कतिपयले दशैं खर्च उठाउन समेत सामान्य प्रोफिट बुक गरेरै सेयर बिक्रीको हतारो देखाउँदा बजारमा प्रभाव परिरहेको छ र इण्डेक्स दैनिक घटिरहेको छ । 

३.हाम्रो बजार अलिक विचित्रकै छ । यहाँ इण्डेक्स घट्न थालेपछि लगानीकर्ता आफूसँगको सेयर बिक्री गर्न थाल्छन् भने इण्डेक्स बढ्न थालेपछि खरीदारीतर्फ लाग्छन । पछिल्लो समय दुई म्युचुअल फण्डको करिब २ अर्ब बराबरको सार्वजनिक निश्कासनहरुमा लगानीकर्ताले पैसा फसाउँदा केही प्रतिशत बजारमा त्यसको असर पनि देखिएको हुनसक्छ ।