काठमाण्डौ । धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, धितोपत्र दलाल व्यवसायी र मर्चेन्ट बैंकरले अर्धवार्षिक रुपमा लेखा परीक्षकबाट प्रमाणित नियम परिपालना प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । 

बोर्डले अबदेखि अर्धवार्षिक रुपमा नियम परिपालना प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको उल्लेख गर्दै सो अनुसार गर्न गराउन सम्बद्ध सबै निकायलाई परिपत्रमार्फत निर्देशन दिएको हो । 

बोर्डका प्रवक्ता निरज गिरीले यस व्यवस्थाबाट धितोपत्र बजार, धितोपत्र दलाल व्यवसायी तथा मर्चेन्ट बैंकरको नियम परिपालनाको अवस्थामा सुधार हुने र यी निकायबाट हुने सेवाप्रवाह व्यवस्थित, अनुशासित एवं पारदर्शी भई समग्र धितोपत्रबजार थप सुदृढ हुने अपेक्षा गरिएको बताएका छन् । 

धितोपत्र सम्बन्धी ऐन र सो अन्तर्गत बनेका नियम, विनियम र निर्देशनहरुमा यी संस्थाहरुको कामकारवाहीलाई व्यवस्थित तथा पारदर्शी बनाई संस्थागत सुशासन कायम गर्न नयाँ व्यवस्थाले सहयोग गर्नेमा गिरीको जोड छ ।