काठमाण्डौ । डलरको भाउ इतिहासमै पहिलोपटक ११९ रुपैयाँ भन्दा माथि पुगेको छ । 

बुधबार नेपाली रुपैयाँ अमेरिकी डलरसँग इतिहासमै सबैभन्दा बढी अवमूल्यनमा परेको हो । 

यो दिन एक अमेरिकी डलर खरीद गर्न ११९ रुपैयाँ ३३ पैसा खर्च गर्नुपर्नेछ । 

मंगलबार मात्र अमेरिकी डलरको भाउ रु. ११८ रुपैयाँ ८० पैसाको रेकर्डमा पुगेको थियो । तर, एकै दिनको अन्तरमा पुरानो रेकर्ड तोडिएर नयाँ बनेको हो । 

गत शुक्रबार एक अमेरिकी डलर खरीद गर्न ११८ रुपैयाँ ३ पैसा खर्च गर्नुपर्ने थियो । त्यसपछि पनि डलरको भाउ लगातार बढिरहेको हो । डलरको भाउ दैनिकजसो बढिरहे पनि नेपालले चुपचाप सहनुको विकल्प छैन । यो पटकको दैनिकजसो डलरमा भइरहेको मजबुतीले बजार भाउमा अचाक्ली वृद्धि हुन थालेको छ । न्यून आय भएकाहरु  चाडपर्वको मुखमा डलरको भाउ वृद्धिबाट उत्पन्न अचाक्ली महंगीबाट नराम्ररी प्रभावित हुने देखिन्छ । ठूलो पर्वमै नागरिकको चुल्हो महंगो हुने निश्चित भइसक्दा समेत भारुसँगको स्थिर बिनिमय दरको पीडा नेपालले भोगिरहेको छ ।  

नेपाली मुद्राको भारतसँग स्थिर विनिमय दर छ । यसको अर्थ भारतीय मुद्रा डलरसँग जति अवमूल्यन हुन्छ, त्यसको उति प्रभाव नेपाली रुपैयाँमा समेत पर्छ । भारतीय बजारमा एक डलर खरीद गर्न करिब ७४ भारु खर्च गर्नुपर्ने अवस्था सिर्जना भइसकेको छ ।

अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएका कारण डलरको भाउमा यति विघ्न बढोत्तरी भइरहेको हो । अमेरिकी अर्थतन्त्रको मजबुतीले भारत लगायत विश्वका अधिकांश मुलुकको अर्थतन्त्र धरमराउन थालेको छ । यसको बाछिटा नेपालमा समेत परेको हो ।  

एकातिर डलरको भाउ वृद्धिका कारण नेपाली रुपैयाँ अवमूल्यनमा परिरहेको छ भने यसको सोझो असर नेपालमा भित्रिने पेटोलियम पदार्थको मूल्यमा समेत परिरहेको छ । इन्धनको मूल्यमा भएको उच्च वृद्धिले नेपाली भान्सामा महंगी भित्र्याउने र यसपटकको दशैं निकै खर्चिलो हुने अर्थविदहरुले बताइरहेका छन् । 

के हुन्छ नाफा र घाटा ?
भारुका कारण नेपाली मुद्रा समेत इतिहासकै कमजोर भएपछि यसले देशको अर्थतन्त्रमा थुप्रै प्रभावहरु पार्ने अर्थविद बताउँछन् । यो पटक नेपाली मुद्रा गत अप्रिलदेखि नै अवमूल्यनमा पर्दै आएको थियो ।

अर्थविदहरुको भनाईमा भुक्तानी सन्तुलनलाई नियन्त्रणमा राख्न नसकेको नेपालजस्तो देशका लागि डलरको भाउ बढ्नु दुःखद पक्ष हो, कारण यसले आयातलाई महङ्गो बनाई देशकै अर्थतन्त्रलाई डामाडोल बनाइदिनसक्छ । 

तर, नेपाली मुद्राको अवमूल्यनको सकारात्मक पाटाहरु पनि हुन्छन् । विज्ञहरुकाअनुसार रेमिटान्समा आधारित अर्थतन्त्रमा भित्रने रेमिटान्स डलर मजबुत हुँदा बढ्छ । यस्तै, निर्यातबाट प्राप्त आम्दानी समेत बढ्छ । 

यसैगरी, अमेरिकी डलरको उच्च क्रय क्षमताले नेपालजस्तो देशमा पर्यटकहरुको आगमन बढाउन समेत मद्धत पुग्नसक्छ । डलरको मजबुतीले भन्सार आय समेत बढ्नसक्छ । 

तर, डलरको मजबुतीबाट नेपालजस्तो देशलाई घाटा पनि कम हुँदैन । आयातमा आधारित अर्थतन्त्रमा आयातको खर्च बढ्दा अवस्था नाजुक हुनसक्छ । भुक्तानी सन्तुलनमा दवाब पर्नेछ भने वैदेशिक ऋण तिर्दा देशले बढी पैसाको जोहो गर्नुपर्नेछ । 

अमेरिकी डलरमा कतिपय जलविद्युत कम्पनीसँग सम्झौता हुने भएकोले डलरको भाउ बढ्दा यसले भविष्यमा नेपाल विद्युत प्राधिकरणको घाटा बढाइदिनसक्छ । 

यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि तोकिएको हवाई भाडादर समेत महङ्गो पर्नसक्छ । यसले विदेश पढ्न, बिजिनेश गर्न, घुम्न वा काम गर्न विदेश जानेहरुको बजेट समेत बढाइदिन्छ । डलरको भाउ बढ्दा अमेरिकी डलरको कालोबजारी समेत बढ्ने डर हुन्छ।

डलरको भाउ बढ्ने बित्तिकै विदेशी मुद्रा खर्च गरेर गरिनुपर्ने आयातको मूल्य स्वतः बढ्छ। उसै त कहालीलाग्दो स्थितिमा रहेको व्यापार घाटा त्यसो हुँदा झनै बढ्छ। 

आयातमा भएको उच्च वृद्धिका कारण चालु आर्थिक वर्षका पहिलो महिनामा चालू खाता घाटा विस्तार भई रु।२५ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा यस्तो घाटा रु।५ अर्ब ९८ करोड रहेको थियो । अमेरिकी डलरको
आधारमा अघिल्लो वर्षको पहिलो महिना अमेरिकी डलर ५ करोड ८३ लाख रहेको चालु खाता घाटा समीक्षा महिनामा अमेरिकी डलर २३ करोड ४ लाख पुगेको छ । डलरको भाउ बढ्दा यसमा थप दवाब पर्नेछ । 

चालु आबको पहिलो महिनामा रु।३ अर्ब २९ करोडले घाटामा रहेको समग्र शोधनान्तर स्थिति समीक्षा अवधिमा रु।२४ अर्ब ७७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको पहिलो महिनामा अमेरिकी डलर ३ करोड २० लाखले घाटामा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको सोही अवधिमा अमेरिकी डलर २२ करोड ५० लाख ले घाटामा रहेको छ । यसमा पनि थप दवाब पुग्नेछ ।

शोधानान्तर बचत र विदेशी विनिमय सञ्चितिमा समेत डलरको बढ्दो मूल्यले हिट गर्न सक्छ । 

नेपालको झन्डै ७० प्रतिशत व्यापार भारतसँग हुने गर्छ। तर भारतमै पनि भारु सस्तो हुँदा हुने महँगी यता सर्न सक्छ। 

इन्धनको मूल्य चर्को हुनेछ र यसले पर्वको मुखमा बजारमा महङ्गी बढाइदिने निश्चित छ । 

यसैगरी, दशौं हजार नेपाली विद्यार्थी विदेशमा पढ्न गएका छन्। उनीहरूले त्यहाँ विदेशी मुद्रामा पैसा तिर्नुपर्छ। डलरको भाउ बढ्नेबित्तिकै त्यसले ती विद्यार्थीको परिवारमाथि एक्कासी आर्थिक बोझ थपिन्छ।

अर्को प्रमुख बेफाइदा चाहिँ नेपालले विदेशी मुद्रामा लिएको ऋणको परिमाण डलरको भाउ बढेसँगै बढ्छ। विदेशी ऋणको सावाँ र ब्याज तिर्न भनी बजेटमा छुट्याएको रकम अपुग हुनसक्छ।