काठमाण्डौ । नेपाली रुपैयाँ चार महिनायताकै बलियो बनेको छ । अमेरिकी डलरको भाउमा निरन्तर गिरावट आएसँगै नेपाली रुपैयाँ बलियो बनेको हो।

बुधबार नेपाल राष्ट्रबैंकले एक अमेरिकी डलर खरीदको दर ११० रुपैयाँ ८२ पैसा तोकेको छ । जसको बिक्री दर १११ रुपैयाँ ४२ पैसा तोकिएको छ । 

अमेरिकी डलर अगस्ट १३ पछिकै सबैभन्दा तल्लो विन्दूमा झरेको हो । २०१८ को अगस्ट १३ मा अमेरिकी डलरको खरीद तथा बिक्री दर क्रमशः १०९ रुपैयाँ ८३ पैसा र ११० रुपैयाँ ४३ पैसा रहेको थियो । 

त्यसपछि निरन्तर बढेको अमेरिकी डलरको भाउ २०१८ को नोभेम्बर १ मा ११८ माथि पुगेको थियो । सो दिन अमेरिकी डलरको भाउ हालसम्मकै उच्च ११८ रुपैयाँ ६३ पैसाको विन्दूमा पुगेको थियो । नोभेम्बर ९ देखि अमेरिकी डलरको गिरावटको यात्रा सुरु भएको थियो, जुन अझै निरन्तर छ । 

अमेरिकी अर्थतन्त्र कमजोर बन्दै जाँदा र कच्चा तेलको भाउमा समेत निरन्तर गिरावटको प्रभाव अमेरिकी डलरको भाउमा परेको हो । 

नेपाली रुपैयाँको भारुसँग स्थिर विनिमय दर छ । भारतीय अर्थतन्त्र केही मजबुत भई भारुको अमेरिकी डलरसँगको अवमूल्यनमा सुधार भएसँगै त्यसको सोझो प्रभाव नेपाली रुपैयाँ परेको हो । 

के घाटा, के नाफा ?
अमेरिकी डलरको भाउ घट्दा नेपालजस्तो आयातमुखी अर्थतन्त्रलाई घाटा भन्दा फाइदा नै बढी हुन्छ । 

आयातित सामानको मूल्य डलरको गिरावटले थोरै पर्न जान्छ । यसले अर्थतन्त्रलाई टेवा नै पुग्छ । यस्तै, पेटोलियम पदार्थको आयातमा समेत देशले मासिक ३० अर्ब बढी रुपैयाँ विदेशीहरुलाई तिर्नुपर्ने भएकोले यसतर्फ पनि फाइदा नै हुनेछ, नेपाली रुपैयाँ लागत घट्नेछ । 

पछिल्लो समय शिक्षा र स्वास्थ्य सेवाका नाममा विदेश जाने नेपालीको संख्या अत्यधिक रहेकोले यस्तो सेवाको नाममा विदेश जाने नेपाली रुपैयाँ समेत घट्नेछ । 

तर, पछिल्लो समय रेमिट्यान्सको आधारमा चलिरहेको मुलुक भएकोले विदेशबाट भित्रिने रेमिट्यान्समा भने डलरको भाउमा भएको गिरावटले नकारात्मक प्रभाव पार्छ । 

यस्तै, सरकारले तिर्नुपर्ने विदेशी ऋणको लागत समेत घटी देशलाई नै फाइदा पुग्नेछ ।