काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सले १० बराबर ६ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने अनुमति पाएको छ । 

नेपाल धितोपत्र बोर्डले जेठ ४ गते कम्पनीलाई ६० प्रतिशत हकप्रद निश्कासनको स्वीकृति दिएको हो । 

नेशनल लाइफले गत कात्तिक २७ गते हकप्रद निश्कासनको माग गर्दै आवेदन दिएको थियो । 

स्वीकृतिसँगै कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९९ लाख ३६ हजार ४ सय ७८ कित्ता हकप्रद बिक्रीका लागि खुल्ला गर्नेछ । 

यो कम्पनीको हालको चुक्तापूँजी १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्तापूँजी बढेर २ अर्ब ६४ करोडको उचाईमा पुग्नेछ । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल लिमीटेडले गर्नेछ । 

हकप्रद निश्कासनको अनुमति पाएसँगै अब निश्कासनका अन्य प्रक्रिया तीव्र अगतिमा अगाडि बढ्ने बिक्री प्रबन्धकले जनाएको छ । 

यो कम्पनीको दोश्रो बजारको अन्तिम कारोबार मूल्य १३८६ रुपैयाँ रहेको छ । यसको अर्थ यति आकर्षक मूल्यको कम्पनीको सेयर सेयरधनीले १०० रुपैयाँमै पाउनेछन् । 

नेशनल लाइफले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २२ करोड २० लाख खूद नाफा आर्जन गरेको छ ।