काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भोलि मंगलबार गरिने भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार भोलि दिउँसो १ बजे नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड गरिनेछ। आईपीओ बाँडफाँड कार्यक्रम काठमाण्डौको जमलस्थित होटेल एल्लो प्यागोडामा राखिएको छ। 

नेष्डो समृद्ध लघुवित्तको प्रिअलटमेन्टको काम आइतबार सकिएको क्यापिटलले जनाएको छ। 

यो संस्थाले गत फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको थियो।

संस्थाले कुल कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने १२ हजार ७५० कित्ता कर्मचारीका लागि सुरक्षित गरेको थियो भने ५ प्रतिशतले हुन आउने ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। बाँकी ७ लाख ७४ हजार ५६३ कित्तामा सर्वसाधारणले आवेदन दिने व्यवस्था गरिएको थियो।

अन्तिम दिनसम्म यो आईपीओमा २५ लाख ९९ हजार ५९८ आवेदकबाट ३ करोड १ लाख १३ हजार ७०० कित्ता सेयर माग भएको छ। जुन मागको तुलनामा ३८.८८ गुणाले बढी हो। यद्यपि प्रिअलटमेन्टपछि यो तथ्यांकमा केही हेरफेर हुन सक्छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार ७७ हजार ४५६ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। यसरी १० कित्ताका दरले सेयरमध्येबाटै २० कित्तामाथि आवेदन दिन तिनै आवेदकमध्ये ३ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्। 

नेष्डो समृद्ध लघुवित्तको आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासनको अनुमति दिएको थियो।