– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । लामो समयदेखि सीडीएससीले सेन्ट्रल केवाईसी ल्याउने कसरत गरिरहेको छ। यद्यपि सेन्ट्रल केवाईसीको व्यवस्था सीडीएससीले गर्न सकेको छैन। 

पछिल्लो समय भने सीडीएससीले नेसनल आईडी (राष्ट्रिय परिचयपत्र) नम्बरसहितको सेन्ट्रल केवाईसी ल्याउने प्रक्रियालाई अगाडि बढाएको छ। ‘अब आउने सेन्ट्रल केवाईसीमा राष्ट्रिय परिचयपत्र नम्बरसहितको हुनेछ’, सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यले भने। 

गृह मन्त्रालयले कार्यविधि बनाएपछि राष्ट्रिय परिचयपत्र नम्बरसहितको सेन्ट्रल केवाईसीको व्यवस्था गर्ने बाटो खुल्ने आचार्यले बताए। गृह मन्त्रालयले हालसम्म ७५ लाख मानिसलाई राष्ट्रिय परिचयपत्र वितरण गरिसकेको छ। 

आचार्यका अनुसार नेपाल धितोपत्र बोर्डले राष्ट्रिय परिचयपत्र नम्बरसहितको सेन्ट्रल केवाईसीको व्यवस्था गर्न अनुमति दिइसकेको छ। ‘अब गृहले सीडीएसीलाई एपीआई पोलिसी दिनुपर्ने हुन्छ’, उनले भने। 

आचार्यले पहिले भनिएझैँको सेन्ट्रल केवाईसीको व्यवस्था गर्दा पछि फेरि राष्ट्रिय परिचयपत्र नम्बर पनि थप्नुपर्ने देखिएको बताए। ‘त्यसैले यो व्यवस्था राष्ट्रिय परिचयपत्र नम्बरसहितको गर्न लागिएको हो’, उनले भने। 

राष्ट्रिय परिचयपत्रमा सबै विवरण हुने भएको हुँदा पूर्ण विवरणसहितको सेन्ट्रल केवाईसी भएमा सेवाग्राहीलाई पनि सजिलो हुने आचार्यको तर्क छ। ‘सेन्ट्रल केवाईसी मोबाइल एपबाटै भर्न मिल्ने गरी तयारी गरिँदैछ’, उनले भने, ‘सेन्ट्रल केवाईसीको व्यवस्था भएपछि ग्राहकले सबैतिर केवाईसी भर्दै हिँड्नुपर्दैन।’ 

गृह मन्त्रालयबाट यस्तो विवरण नेपाल टेलिकमले पनि मागेको आचार्यले जानकारी दिए । ‘सायद नेपाल टेलिकमले सीम कार्डबिना ग्राहकलाई मोबाइल नम्बर वितरण गर्ने सोच बनाएको हुन सक्छ’, उनले भने।